कोभिडका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण छ :अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १६ : १५
कोभिडका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण छ :अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।दक्षिण एसियाली एसियाली सहयोग संगठन सार्क अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको बताए ।

अर्थमन्त्री पौडेलले भने,‘अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’

आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड १९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।

‘कोभिड १९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ, उनले भने,‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ । ’ उनले भने ।

कोभिड १९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको समेत जनाए ।

अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे।

उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए ।कोभिड १९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शिघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस