नाममात्रैको भयो निषेधाज्ञा

पत्रपत्रिकाबाट

शनिबार, १८ बैशाख २०७८, ०७ : ३४
नाममात्रैको भयो निषेधाज्ञा

file-photo

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ।

प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति दिएपछि सडकमा भीडभाड बढेको हो।

निषेधाज्ञा जारी भएपछि ‘पिक आवर’मा उपत्यकाका मुख्य सडकका चोकमा सवारी जामसमेत हुने गरेको छ। सार्वजनिक सवारीसाधन र पैदलयात्रुलाई कडाइ गरे पनि निजी सवारीसाधन र कार्यालयमा काम गर्ने सबैखाले कर्मचारी ओहोरदोहोर गरेका छन्।

गत सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक सेवाबाहेक कार्यालय नखुल्ने गरी निषेधाज्ञा जारीको निर्णय गरेको थियो। तर कुनकुन कार्यालय भनेर नतोकिँदा सबैजसो कर्मचारी ओहोरदोहोर गर्ने गरेका छन्।

वित्तीय क्षेत्र खुला हुन पाउने भएपछि बैंकदेखि सहकारी तथा बिमा कम्पनीका कर्मचारीसमेत ओहोरदोहोर गर्ने गरेको प्रहरी नै बताउँछ। कार्यालयको कार्ड देखाएर छाड्नु परेपछि प्रहरी पनि अलमलमा परेको छ।

तर, दैनिक ज्याला मजदुरी गर्ने र दिनभरी काम गरेर छाक टार्ने सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न रोक लगाइएको छ। प्रशासनले जारी गरेको सूचनाको आधारमा कडाइ गरिएको प्रहरीको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस