अर्घाखाँची । कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।
“परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र गरेकी छिन् ।
उनी भन्छिन्, “शुरुमा गाउँलेले दिएको अन्नपातले परिवार चल्यो । अहिले बाख्रापालनबाट जसोतसो जीविका चलाएकी छु । घर चुहिने भएको छ तर छाउने खर्च छैन ।” घरको छानो देखाउँदै उनले भनिन्, “यही घर छाउन भनेर उहाँ भारत जानुभएको थियो, कोरोना देखिएपछि खोइ किन डराउनुभयो पत्तै पाइएन, आफैँ ज्यान फाल्नुभयो ।”
यस्तै शीतगङ्गा नगरपालिका– ५ कै नारायण न्यौपानेको रक्त क्यान्सरबाट मृत्यु भएपछि श्रीमती नर्मदा न्यौपाने पनि बिचल्लीमा छिन् । घरमा रहेका छोराछोरी कसरी पढाउने र परिवार कसरी चलाउने भनेर समस्या थपियो । उनी पनि अहिले बाख्रा पालेर परिवार चलाएको बताउँछिन् ।
मनकला विक र नर्मदा न्यौपाने दुवैलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीले पाँच÷पाँच वटा बाख्रा प्रदान गरेको छ । दुवै अतिविपन्न परिवारलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीकोतर्फबाट बाख्रा खरिद गरी अनुदानमा उपलब्ध गराइएको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले जानकारी दिनुभयो । विपन्न एवं साना किसानलाई स्वरोजगारी बनाउन र बाख्रापालन व्यवसायमा आबद्ध गराउन बाख्रा प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ बैशाख २०७८, १४ : ५६
लेखकबाट थप