सर्वदलीय बैठकको नालीबेली

केके भयो बैठकमा ? एमसिसीको विषयमा चर्काचर्की

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १६ : १५
केके भयो बैठकमा ? एमसिसीको विषयमा चर्काचर्की

काठमाडौँ । आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति धेरै आक्रोश पोखे ।  बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिका र कार्यशैलीप्रति गम्भीर असहमति जनाए । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोकेकोमा प्रधानमन्त्रीले सभामुखको चर्को आलोचना गरेका थिए । 

सर्वदलीय बैठकमा एमसिसी पास गर्नलाई जोड दिइरहेको नेपाली कांग्रेसलगायतका दलहरुले पनि प्रधानमन्त्रीलाई साथ दियो । बैठकमा एमसीसीलाई अविलम्ब संसदको प्रक्रियामा लैजाने विषयमा सहमति भयो, तर एमसिसी प्रक्रियालाई सभामुख सापकोटाले संसदको प्रक्रियामा लैजालान् भन्नेमा शंका छ । सभामुख एमसिसीलाई अगाडि बढाउन चाहँदैनन् । त्यसकारण पनि प्रधानमन्त्रीले आजको बैठकमा सभामुखप्रति गुनासोसहित आक्रोश व्यक्त गरेका हुन् । 

वैशाख ७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी अगाडि बढाउनेबारे दलहरूबीच सैद्धान्तिक सहमति त आजको बैठकमा भयो, तर बल अब सभामुखमा कोर्टमा गयो । उनले एमसिसीलाई संसदमा लैजालान् वा होल्ड गर्लान् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा एमसीसीलाई प्रक्रियामा लैजाने विषयमा सहमति भए पनि सभामुखमा यसमा मञ्जुर नभएको स्रोतको भनाइ छ । 

सरकारले संसदमा पेश गरेको विषय सभामुखले स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन, वैशाख ७ गतेअगावै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी अगाडि बढाऔं भन्ने प्रधानमन्त्रीको प्रस्तावमा उपस्थित दलले समर्थन जनाए तर सभामुख यसमा अझै मौन बसिरहेका छन् ।
बैठकपछि परराष्ट्रमन्त्री एवं प्रदीप ज्ञवालीले एमसीसी पास गर्ने कि नगर्ने भन्ने संसदको अधिकार भए पनि संसदको नेतृत्वले लामो समय प्रक्रियामा नलगेर राख्न नमिल्ने बताए । 

‘एमसीसी लामो समयदेखि अड्किएको छ, पास गर्ने कि नगर्ने संसदको अधिकार छ । सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न हुँदैन भन्ने सबैको धारणा छ । कार्यव्यवस्थामा छलफल गरेर टुंगोमा पुर्‍याउने सहमति भएको छ,’ ज्ञवालीले भने । 

बैठकमा नेपाली कांग्रेसले सहमति जुटाएर एमसीसी अनुमोदन गर्नुपर्ने बताएको थियो । ‘कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं, आपत्तिजनक केही छ भने हेरौं, सदनमा छलफल गरौं भनेर कुरा राख्यौं,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।
नेमकिपा बाहेकका दलले एमसीसी लामो समय अड्काएर राख्न नहुने बताए । बैठकमा माओवादी केन्द्र सहभागी नै भएन । 

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक माओवादी केन्द्रले भने बहिष्कार गरेको थियो । प्रधानमन्त्री ओली स्वयंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रवार फोन गरेर बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

सर्वदलीय बैठकमा माओवादी अनुपस्थित भएकोबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा उपस्थित नहुनु गैरजिम्मेवार  बताए । 

‘किन आउनुभएन ? उहाँहरूले जान्ने कुरा हो, गैरजिम्मेवार कुरा हो,’ ज्ञवालीले भने, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ ।’
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त विभिन्न स्थानमा उपनिर्वाचनका लागि दलहरूसँग प्रस्ताव गरेका थिए । सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा, राप्रपा, नेमकिपा लगायतका दलले उपनिर्वाचनका लागि तयार रहेको बताएका थिए । 
 

प्रतिक्रिया दिनुहोस