चितवन । चितवन राष्ट्रिय निकुन्जबाट अघिल्लो वर्ष मात्रै काटेर ल्याएको खडाईको नयाँ गुन्द्री पिँढीमा ओच्छ्याइएको थियो । भरतपुर महानगर २२ छितामाई क्षेत्रको राप्ती नदी किनारमा सानो टिनले छाएको घरमा आइतबार स्थानीयहरु बडो उत्साही भएर जम्मा भएका देखिन्थे । हस्याङफस्याङ गर्दै घरमुली नागमती बोटेले छिमेकी एक दुई जनालाई साथ लिएर बडो उत्साहका साथ ठुलो डेक्चीमा खाना पकाउँदै थिइन् । नागमतीको घरमा पाहुना हुन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउन लागेको र त्यही खाना खाने भन्ने खबरले स्थानीय बोटेहरु उत्साही भएर जम्मा भएका थिए ।
शनिबार चितवन आएका प्रचण्डले बोटेको घरमा खाना खाने चाहना गरेपछि उनलाई स्थानीय राजनितिक अगुवाहरुले नागमतीको घरमा खाना खाने प्रबन्ध गरेका थिए । भरतपुर महानगर प्रमुख रेनु दाहाल, २२ का वडा अध्यक्ष बिष्णुराज महतो र स्थानीय अगुवासहित पूर्वप्रधानमन्त्री दाहाल नागमतीको घरमा पुगे । स्थानीय बोटेले फूलमालाले स्वागत गरेपछि पूर्वप्रधानमन्त्री प्रचण्डलाई आफ्ना समस्या सुनाउन थाले ।
निकुन्जमा जाने घास दाउरा गर्ने माछा मार्ने र जीवन चलाउने बाध्यतामा रहेका भरतपुर महानगर राप्ती नदी किनारका बोटे समुदायले आइतबार दिल खोलेर आफ्ना समस्या माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसंग साटासाट गरे ।
पुर्खौंपुर्खादेखि गरी आएको पेशा माछा मार्ने र जीवन चलाउने काममा निकुन्ज प्रशासनले रोकतोक गर्ने र बिनाकारण बोटे समुदायलाई यातना दिने काम निकुन्ज प्रशासनले गरेको भन्दै उनीहरुले आफ्ना समस्या समाधान गरिदिन प्रचण्ड समक्ष आग्रह गरे ।
बिगत ३० वर्षदेखि राप्ती नदी किनारमा गोहीको अण्डा संकलन गर्दै आएका कालु बोटेले निकुन्जले ३ महिना आफूलाई अण्डा संकलन गर्ने काममा लगाउने तर उचित ज्याला नदिने गरेको दुखेसो गरे ।
बोटेहरु वन र वन्यजन्तु संरक्षणमा धेरै सक्रिय र जिम्मेवार रहँदारहँदै पनि निकुन्ज प्रशासनको गलत नजर आफूहरुमा पर्ने गरेको दुखेसो गरे ।
स्थानीय अगुवा मित्रलाल बोटले राप्ती नदी किनारमा बस्ने बोटे समुदायलाई जग्गा धनी पूर्जा उपलब्ध गराइदिनु पर्ने र निर्वाध रुपमा माछा मार्न पाउने वातावरण बनाइदिनु पर्ने माग गरे । निकुन्जमा जानु निउरो, जलुको टिप्ने राप्तीमा माछा मार्ने काम निर्वाध रुपमा गर्न पाउनु पर्ने माग बोटेहरुको थियो । बोटे समुदायको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष प्रचण्डले नागमतीले बुनेको नयाँ खडाईको गुन्द्रीमा पलेटी मारेर चरेसको थालमा सादा खाना खाए ।
पूर्वप्रधानमन्त्री जस्तो मान्छे आफ्नो घरमा आएर दालभात खाएको देख्दा आफूलाई निकै खुसी लागेको नागमती बोटेले बताइन् । यति ठुलो नेता आफ्नो गाउँमा आएर बोटेले पकाएको खाना खाएको देख्दा आफूहरुलाई ज्यादै उत्साह जागेको स्थानीय बोटे अगुवाहरुले बताउँछन् ।
प्रचण्डले पटिहानीमा अम्रेला स्ट्रीट र वडा कार्यालय नजिकै निर्माण भएको कभर्ड हलको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, २९ चैत्र २०७७, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद
सहिद तथा बेपत्ता परिवारको एक जनालाई रोजगारी दिने व्यवस्था सुनिश्चित गर्दैछौँ : प्रचण्ड
अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड