सरकारको कार्यशैलीप्रति युवराज ज्ञवालीको असन्तुष्टि

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १६ : ३८
सरकारको कार्यशैलीप्रति युवराज ज्ञवालीको असन्तुष्टि

काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ बहुमतको आडमा मनोमानी ढंगले निर्णय गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताको विषय बनेको बताएका छन्।

बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले संविधानको मर्म र लोकतान्त्रिक अभ्यासमा चुनौती सिर्जना गर्न सक्ने अवस्था देखिएको टिप्पणी गरे।

ज्ञवालीले सत्तारुढ दलबाट संघीयता सम्बन्धी व्यवस्था हटाउने आशयको दस्तावेज पारित गरिएको दाबी गर्दै त्यसले संविधानको भविष्यप्रति आशंका उत्पन्न गरेको बताए। उनले यस्ता गतिविधिबाट सरकारको उद्देश्य संविधानको मूल संरचनामाथि नै प्रश्न उठाउने दिशातर्फ उन्मुख भएको हो कि भन्ने शंका बढेको उल्लेख गरे।

प्रधानमन्त्री तथा सरकारले कानुनी र संवैधानिक सीमाभन्दा बाहिर गएर आफूखुसी निर्णय गर्न सक्ने मानसिकता विकसित हुनु लोकतान्त्रिक शासन प्रणालीका लागि गम्भीर चेतावनी हुने उनको भनाइ थियो। साथै, उनले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस