पेट्रोलियम पदार्थ लुकाउने पेट्रोल पम्पलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १४ : ३७
पेट्रोलियम पदार्थ लुकाउने पेट्रोल पम्पलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट “पेट्रोल छैन”, “डिजेल छैन” भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको बताएका छन् ।

उनका अनुसार मूल्य घटेपछि पुरानो महङ्गो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशङ्का गरिएको छ । यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस