श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १० : २४
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...

file Pic

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए ।

मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस