सरकारको नेतृत्व लिने भन्दै काँग्रेसले गर्यो प्रधानमन्त्री ओलीको राजिनामा माग

शनिबार, २१ चैत्र २०७७, ०७ : ५१
सरकारको नेतृत्व लिने भन्दै काँग्रेसले गर्यो प्रधानमन्त्री ओलीको राजिनामा माग

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले वैकल्पिक सरकार निर्माणको पहलका लागि पहिलोपल्ट औपचारिक निर्णय गरेको हो । आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निचोड कांग्रेसको छ ।

यसअघि पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि सर्वसम्मतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्णयपछि पनि देउवाले वैकल्पिक सरकार बनाउन अग्रसरता नलिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले असन्तुष्टि जनाएको थियो । उनीहरूले पार्टीले ठोस निर्णय नलिएकै कारण ओलीमा सर्वसत्तावाद र स्वेच्छाचारिता बढेको भन्दै सत्ता समीकरणका विषयमा निर्णय गर्न नेतृत्वलाई बाध्य पारेका हुन् ।

सभापति देउवा र उनीपक्षीय नेताहरूले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र महाधिवेशन तयारीसम्बन्धी एजेन्डा मात्रै अघि सारेका थिए । देउवा तत्काल सत्ता समीकरणको विषयमा निर्णय गराउने पक्षमा थिएनन् । एजेन्डाका विषयमा मोटामोटी समझदारी गरेपछि मात्रै बैठक सुरु गर्ने कांग्रेसको प्रचलनै बसेको छ ।

शुक्रबार पनि सभापति देउवाको कार्यकक्षमा संस्थापन र इतरपक्षका शीर्ष नेताहरूबीच पार्टीको क्रियाशील सदस्यता र सत्ता समीकरणका विषयमा अनौपचारिक छलफल चलेको थियो । सदस्यतासम्बन्धी विषयमा समझदारी जुटे पनि सत्ता समीकरणका विषयमा अहिल्यै ठोस धारणा बनाउने कि नबनाउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो । सभापति देउवाले सत्ता समीकरणका विषयमा हतारो गर्न नहुने भन्दै पौडेल र सिटौलालाई मनाउन खोजेका थिए ।

ओलीको राजीनामा मात्रै माग्ने तर सत्ता समीकरणका विषयमा अहिल्यै निर्णय नगराउने पक्षमा देउवा थिए । पौडेल र सिटौलापक्षीय शीर्ष नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको यतिका दिनपछि राजीनामा माग्ने निर्णय मात्रै गर्दा हास्यास्पद हुने भन्दै सरकारका विषयमा पनि ठोस निर्णय लिनैपर्ने अडान राखेका थिए । अनौपचारिक छलफलमै नेताहरूबीच लामो रस्साकसी चलेपछि अन्ततः समझदारी बनाउँदै दिउँसो २ बजे बोलाइएको बैठक राति पौने ८ बजे मात्रै सुरु भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।