बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

रासस

शुक्रबार, १२ असार २०८३, १५ : २९
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए । अहिले ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ ।

गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् । गाउँमा काम गर्ने मानिस अभाव छ । जसका कारण किसानले गोरु पाल्न विस्तारै छोडिसकेका छन् ।

यस्तै समयको गतिसँगै बदलिँदो ग्रामीण परिवशेको यथार्थ समस्यालाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले किसानलाई यान्त्रिकीकरण मार्फत किसानलाई कृषि उत्पादनतर्फ उन्मुख गराउने प्रयास थालेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ९० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल र हाते ट्रयाक्टर वितरण गरेको छ ।

कृषिमा बढ्दो श्रम अभावको न्यूनीकरण, उत्पादन लागत घटाउने र समयको बचत गर्दै खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले किसानहरुलाई उक्त प्रविधि हस्तानत्रण गरिएको नगरप्रमुख जीवलाल खरेलले बताए ।

उहाँले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको, गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको बताए ।

मुसिकोट‐२ का किसान बुद्धीराम खरेलले भने, “गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्, यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ ।”

हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ । पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू पनि उत्साहित देखिएका छन् ।

अर्का कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने भएको भन्दै यसले समय र ढुवानी खर्चमा समेत बचत हुने बताइन् ।

नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पुर्‍याउन सकेका यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताइन् ।

गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसालाई टिकाइराख्न यस्ता प्रकारका आधुनिक यान्त्रिकीकरण वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस