होली खेल्ने क्रममा झड्प, दुइजनाको मृत्यु

पत्रपत्रिकाबाट

सोमबार, १६ चैत्र २०७७, ०७ : ३४
होली खेल्ने क्रममा झड्प, दुइजनाको मृत्यु

बागलुङ । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खसेर उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टि गरे । मृतकको नाम भने खुलेको छैन ।

बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेको स्थानीयले बताए पनि प्रजिअ कार्कीले पुष्टि भइनसकेको बताएका हुन् । उनले भेटिएका मृतक उनीहरु हुन् वा अन्य भन्ने नखुलेको बताए ।

दुवै युवालाई अर्को समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाह पाएपछि उद्धारका लागि प्रहरी खटाएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । घटनामा भागाभाग भएका १५ जना सम्पर्क बाहिर रहेको स्थानीयले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस