होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित

रासस

बुधबार, १३ फागुन २०८२, १४ : ०५
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित


धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन् । 

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर’

यस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिले मिथिलाको होलीलाई जीवन्त बनाउँथे । होलीका अवसरमा गाइने यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ ।

संस्कृतिविद् किशोरी साहका अनुसार जोगिराले होली खेल्नेहरूबीच माया, सद्भाव र उत्साहको सन्देश प्रवाह गर्दछ । उनले भने, “होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ । संगीतबिना होलीको परिकल्पना गर्न सकिँदैन । होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ ।”

मिथिला नगरपालिका–२ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले विगत सम्झँदै भने, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ घुमेर जोगिरा गाइन्थ्यो । अहिले ढोल, मृदङ्ग केही बज्दैँनन्, फागुका गीत पनि सुनिदैँन ।” उहाँका अनुसार जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा संकटमा परेको छ ।

क्षीरेश्वरनाथ विदेश पलायन हुनु, संस्कृति हस्तान्तरण हुन नसक्नुलगायत कारणले मौलिक परम्परा लोप हुने जोखिम बढेको बताए । “यसपालिको होली नजिक आइपुग्यो, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल”, उनले भने, “पुराना परम्परा जानेका, बुझेका साथीहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ । गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन् ।”

प्रतिक्रिया दिनुहोस