कोरोना संक्रमण बढेसंगै लकडाउनको चिन्ता बढ्यो, सरकार भने लकडाउन नगर्ने पक्षमा

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १२ : ५५
कोरोना संक्रमण बढेसंगै लकडाउनको चिन्ता बढ्यो, सरकार भने लकडाउन नगर्ने पक्षमा

काठमाडौं । एक वर्ष अघि भयावह रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण अहिले छिमेकी देश भारतमा हवात्तै बढेको छ । भारतमा बढेसंगै यसको संक्रमण नेपालमा पनि पुनः फैलिने हो भन्ने त्रास शुरु भएको छ । यस्तै त्रासका बिच नेपाल सरकारले पनि सतर्कता अपनाउन सर्वसाधारणसंग पुनः अपिल गरेको छ । कतिपय जिल्लाका स्थानिय प्रशासनले भिडभाड, सभा, ¥याली नगर्न सार्वजनिक विज्ञप्ती नै जारी गरेको छ। 

यता भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम ह्वात्तै बढेर गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

 यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो । हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बढेर देश पुनः लकडाउनमा जाने हो कि भन्ने सर्वसाधारणमा चिन्ता समेत थपिएको छ ।

सरकारले कोरोना संक्रमण तिब्र बनेपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ । सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने तथा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउदैं जाने पक्षमा देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको जोड दिन सरकार लागिपरेको बताउन् । 

यस्तै, परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई उचित उपचारको व्यवस्था गर्न, स्थानीय निकाय, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग तथा समन्वय गर्न पनि आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यत विज्ञहरुले भने कोरोनाको संक्रमण बढ्न नदिनका लागि सबैभन्दा धेरै आम नगरिकनै जिम्मेवार हुनुपर्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस