केपी ओलीको जसपालाई फकाउने प्रयास असफल

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १५ : ३९
केपी ओलीको जसपालाई फकाउने प्रयास असफल

काठमाडौँ । केपी ओली नेतृत्वको नेकपा एमालको सरकार कतिखेर ढल्ने हो भन्ने कुनै टुङ्गो छैन । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता मात्र गर्नसाथ केपी ओलीको सरकार ढल्छ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने अन्तिम तयारीमा जुटिरहेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता गरेमा आफ्नो सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले अनेक तिकडम गर्न थालेका छन् । उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिनसाथ आफ्नो सरकार ढल्ने भएका कारण ओलीले निरन्तर जनता समाजवादी पार्टीको एक समूहलाई फकाइरहेका छन् । 

सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल जसपाबीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन सकेन । जसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार वार्ता सकारात्मक भए पनि निकास ननिस्केको बताए । 

टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए । रेशम चौधरीलगायतको रिहाइ, संविधान संशोधन तत्काल हुनुपर्ने अडान जसपाले लिएको छ, तर यस विषयमा प्रधानमन्त्री ओलीले खास जवाफ दिएका छैनन् ।

संविधान संशोधन तत्काल हुन नसक्ने ओलीको भनाइ छ । यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए । वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना छ । सत्ता जोगाउनका लागि उनले जसपा नेपाललाई फकाउने प्रयास गर्दै आएका छन् । जसपा नेपालले आफूहरुको माग पुरा भएपछि मात्र सरकारमा जाने अडान लिएका छन् । ओलीले विस्तारै माग पूरा हुँदै जाने आश्वासन दिएका छन्, तर उधारो सम्झौता नगर्ने अडान जसपाका नेताहरुले छोडेका छैनन् ।