एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सत्ता सम्हालेको १५ वर्ष भइसक्यो । तर, यस अवधिमा उनले आफ्नी आमाको नाम सार्वजनिक रूपमा एक पटक पनि उच्चारण गरेका छैनन्।
उत्तर कोरिया जस्तो देशका शासकको वैधानिकता 'माउन्ट पेक्टु' भनिने पवित्र मानिएको रक्तशृङ्खलामा अडिएको हुन्छ, त्यहाँ किमको आमाको परिचय एउटा यस्तो रहस्य बनेको छ जसले सत्ताको जग नै हल्लाउन सक्ने ठानिएको छ।
उत्तर कोरियाली सरकारी प्रचारबाजी अनुसार 'माउन्ट पेक्टु' कोरियाली सभ्यताको उद्गम स्थल हो र किम वंशका संस्थापक किम इल सुङले त्यही पहाडबाट जापानी उपनिवेश विरुद्ध युद्ध लडेका थिए। किम जोङ उनलाई सोही 'पवित्र' वंशको उत्तराधिकारी मानिन्छ। तर वास्तविकता के छ भने, किमकी आमा को योङ हुइको जन्म 'पवित्र' पहाडमा नभई जापानको ओसाकामा सन् १९५२ मा भएको थियो। उनको परिवार दक्षिण कोरियाको जेजु टापुबाट जापान बसाइँ सरेको थियो।
को योङ हुइको परिवार 'जैनिची कोरियन' थियो। सन् १९५९ देखि १९८४ को बीचमा उत्तर कोरियाले 'स्वर्ग जस्तो जीवन' दिने प्रलोभन देखाएर करिब ९३ हजार कोरियालीहरूलाई जापानबाट फिर्ता ल्याएको थियो। को योङ हुइको परिवार पनि त्यसै बेला उत्तर कोरिया फर्किएको थियो।
उत्तर कोरियाली समाजको वर्गीकरण (सङबुन) अनुसार जापानबाट फर्किनेहरूलाई 'ज्जेपो' भनिने तुच्छ शब्दले सम्बोधन गरिन्थ्यो र उनीहरूलाई विदेशी विचारधाराबाट दूषित भएको मानिँदै 'अस्थिर वर्ग' मा राखिन्थ्यो।
को योङ हुइले पछि राज्यको प्रतिष्ठित 'मानसुदाए कला समूह' मा नर्तकीको रूपमा प्रवेश पाइन्। त्यहीँ उनको भेट किम जोङ इलसँग भयो। किम जोङ इलका अन्य श्रीमती र प्रेमिकाहरू भए पनि को योङ हुइ उनको प्रिय पात्र बनिन्। तर, उनीहरू बीचको सम्बन्धलाई किमका बुबा एवं राष्ट्रपिता किम इल सुङले कहिल्यै औपचारिक मान्यता दिएनन्। त्यसैले, को र उनका सन्तानहरूलाई राजधानी प्योङयाङबाट टाढा वोनसान शहरमा गोप्य रूपमा राखिएको थियो। किम इल सुङले कहिल्यै आफ्ना यी नातिनातिनासँग फोटो खिचाएनन्, जुन उत्तर कोरियाली प्रचार संयन्त्रका लागि अनौठो कुरा हो।
किम जोङ इलको मृत्युपछि उनका जेठा छोरा किम जोङ नाम वा माहिला छोरा किम जोङ चुल उत्तराधिकारी बन्नुपर्ने थियो। तर, जोङ नामलाई पश्चिमा सुधारको पक्षपाती र 'प्लेबोय' भएको आरोप लाग्यो । जसको पछि मलेसियामा हत्या गरियो भने जोङ चुल लागुऔषधको दुर्व्यसनी भएको बताइन्छ। अन्ततः को योङ हुइकै जोडबलमा उनका कान्छा छोरा किम जोङ उन सत्तामा आए।
विश्लेषकहरूका अनुसार किम जोङ उनले आफ्नी आमाको पृष्ठभूमि गोप्य राख्नुको मुख्य कारण उनको 'जापानी साइनो' र 'अवैध सम्बन्धबाट जन्मिएको' भन्ने दाग मेटाउनु हो। यदि किमको आमा 'ज्जेपो' वा तल्लो स्तरको मानिने वर्गकी थिइन् भन्ने कुरा सार्वजनिक भयो भने उनको दैवी मानिने वंशको शुद्धतामाथि प्रश्न उठ्नेछ।
सम्भवतः यही हीनताबोधका कारण उनले आफ्नी श्रीमती री सोल जु र छोरी जु एलाई सार्वजनिक रूपमा अगाडि सार्ने गरेका छन्, ताकि आफू एउटा 'वैध' र 'सम्मानित' परिवारको नेता भएको सन्देश दिन सकियोस्।
सन् २००४ मा पेरिसको एउटा अस्पतालमा क्यान्सरका कारण को योङ हुइको मृत्यु भयो, तर उत्तर कोरियाली सञ्चारमाध्यमले यसबारे एक शब्द पनि खर्चेनन्।
पूर्व कूटनीतिज्ञ र विज्ञहरूका अनुसार यदि किमको आमाको वास्तविक पहिचान सर्वसाधारणमाझ खुल्न गयो भने यसले उत्तर कोरियाको वंशानुगत शासन प्रणालीको जग नै अस्थिर बनाउन सक्छ।
यही डरले गर्दा नै किम जोङ उनले आफ्नी आमाको अस्तित्वलाई इतिहासको पानामा लुकाएर राखेको बीबीसीको खबरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ असार २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाको भ्रमणमा पुगे चिनियाँ राष्ट्रपति सी, किम जोङ उनद्वारा औपचारिक स्वागत
ट्रम्प र किम जोङ उनबीच भेटवार्ताको तयारी
चीन पुगे किम जोङ उन
बेइजिङ गए उत्तर कोरियाली नेता किम जोङ उन