बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

रासस

सोमबार, २४ फागुन २०७७, १५ : ०७
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौं । नेपाल र बङ्गलादेश सरकारबीच, जिटुजी सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । 

मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ । 

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले  जानकारी दिए । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ । 

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार  कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स ९युएई० को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस