आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा पक्राउ

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, ०७ : २०
आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा  पक्राउ

धनुषा । आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए। धनुषाको नगइराइन नगरपालिका वडा नं. ६ स्थित लग्माबाट ७ बर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए ।

प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर उपमहानगरपालिका वडा नं. ७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्दार गरेको थियो ।

बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले १ करोड रुपैयाँ फिरौती मागेका थिए । त्यस लगत्तै प्रहरीले खोजी कार्य शुरु गरेको थियो ।

प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।