काठमाडौँ । संसद् सचिवालयले संवैधानिक परिषद्ले गरेको सिफारिस फिर्ता गरेपछि संघीय संसद्को दुई सदनको अधिकार क्षेत्रलाई लिएर त्यसका प्रमुखबीच नै द्वन्द्व सुरु भएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइ समितिलाई नियुक्तिका लागि गरेको सिफारिस आइतबार फिर्ता गरेका थिए । उनले अधिकार नै नभएको विषयलाई एकल निर्णय गरेर संवैधानिक परिषद्मा सिफारिसको कागजातसहितको फाइल फिर्ता गरेको भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति प्रकट गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर सभामुखको विरोध गरे । सभामुखको पत्रले व्यवस्थापिका र कार्यपालिकाबीच द्वन्द्व बढेको चर्चा भइरहेका बेला अध्यक्ष तिमिल्सिनाको विरोधले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिकार क्षेत्रको विषय नयाँ रूपले उठेको छ ।
यो विवादले नेकपा विभाजनको असर संघीय संसद्मा प्रस्ट रूपमा देखिएको छ । सापकोटा नेकपा दाहाल–नेपाल र पूर्वअध्यक्ष तिमिल्सिना प्रधानमन्त्री केपी ओली निकट छन् । सुरुदेखि नै प्रधानमन्त्री ओलीले सापकोटालाई सभामुख बनाउन चाहेका थिएनन् । लामो समयसम्म पार्टीको आन्तरिक खिचातानीका बीच नेकपा अध्यक्ष पुष्पकमल दाहालको अडानका कारण सभामुख बनेका सापकोटा र ओली निकट अध्यक्ष तिमिल्सनाबीचको सम्बन्ध यसअघि पनि सुमधुर थिएन ।
संवैधानिक परिषद्ले गरेको सिफारिसअनुसारको सम्बन्धित व्यक्तिको सुनुवाइ संघीय संसद्को संयुक्त सुनवाइ समितिले गर्नुपर्छ । समितिले सिफारिस गरेमा मात्र सम्बन्धित व्यक्तिलाई पदको शपथ गराउनुपर्ने व्यवस्था छ । सुनुवाइ समिति नै नभएको अवस्थामा के गर्ने भन्ने अन्योल भइरहेका बेला सापकोटाले कागजपत्र फिर्ता गरेपछि थप विवाद सुरु भएको हो ।
हाल प्रतिनिधिसभा विघटन भएकाले सुनुवाइ समिति नभएको अवस्थामा सुनुवाइ हुने अवस्था नभएको भन्दै सापकोटाले सिफारिस भएका नामावली संवैधानिक परिषद्मा फिर्ता पठाएका थिए । संवैधानिक परिषद्को सिफारिससहितको पत्र प्रतिनिधिसभा विघटन भएकै दिन गत पुस ५ गते सचिवालयमा दर्ता भएको थियो । समिति नै नभएको अवस्थामा सुनुवाइ हुन नसक्दा विगतमा पनि यस्तै अभ्यास भएको प्रसंग जोड्दै सापकोटाले फाइल फिर्ता गरेको तर्क गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० माघ २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख