वर्षमान पुनको टिप्पणी : ओलीका दुई ढेडु बाँदर, रामबहादुर र टोपबहादुर !

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १६ : १५
वर्षमान पुनको टिप्पणी : ओलीका दुई ढेडु बाँदर, रामबहादुर र टोपबहादुर !

बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी  जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकोमा पूर्वमन्त्रीसमेत रहेका पुनले आपत्ति जनाएका हुन् ।

पूर्वमाओवादीकै कारणले ओली दुई पटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे । ‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो’, नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध बिहीबार बुटवलमा गरेको विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ? उही बाँदर ?’ 

पुनले यदि माओवादी युद्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गरे । ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’ 

पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्नेमा आफू विश्वस्त भएको बताए । ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको र सूर्य चिन्ह पनि उसैको रहेको उनको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस