प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दायर

पत्रपत्रिकाबाट

बुधबार, १४ माघ २०७७, ०७ : ४३
प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा दायर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मंगलबार मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन गरेकोमा मंगलबार दर्ता भएको हो । तर,सर्वोच्च अदालतको मुद्दा दर्ता फाँटका कर्मचारीले भने निवेदन दर्ता नभएको बताएका छन् । सर्वोच्च अदालतका सञ्‍चार विज्ञ किशोर पौडेलका अनुसार चारवटा मुद्दा दर्ताको क्रममा छन् । उनले भने,–‘अहिलेसम्म चारवटा निवेदन आएका छन् । कुन विषयसँग छ हामी हेर्दै छौं ।’

निवेदनमा प्रधानमन्त्री ओलीले शुक्रबार (माघ ९) कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यंग्य गरेका थिए ।

‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । कुरा फिटेको फिट्यै छन् केही वकिलहरूले,’ उनले भनेका थिए, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिएको हो, बूढा मान्छेलाई ?’ उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस