काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ देखि हुने भनिएको भारत भ्रमण फेरी पछि धकेलिने चर्चा चलिरहेको बेला उनि अमेरिका भ्रमणमा निस्कने तयारीमा लागेका छन् । प्रधानमन्त्री ओली असोज ५ गते (सेप्टेम्बर २१) मा न्युयोर्क प्रस्थान गर्ने गरी तयारी सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघको ८०औं महासभामा सहभागी हुने गरी अमेरिका भ्रमणको तयारी सुरु भएको प्रधानमन्त्री कार्यलय स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालय र न्युयोर्कस्थित नेपाल स्थायी नियोगले यस भ्रमणको तयारी सुरु गरिसकेका छन्।
संयुक्त राष्ट्रसंघको महासभा सेप्टेम्बर ९ बाट सुरु हुँदैछ, तर उच्चस्तरीय बहस सेप्टेम्बर २३ देखि सुरु हुने छ।
सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८०औं वार्षिकोत्सवको अवसरमा उच्चस्तरीय बैठक आयोजना हुनेछ, जसमा विश्वका नेताहरूले विगत आठ दशकको उपलब्धिबारे छलफल गर्नेछन् र बहुपक्षीय प्रणालीलाई अझ समावेशी र उत्तरदायी बनाउने मार्गचित्र तय गर्नेछन्।
नेपालको स्थायी नियोगका अनुसार प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुनेछन्।
सेप्टेम्बर २३ मा महासभाको उच्चस्तरीय बहसको उद्घाटन सत्रमा पनि ओली सहभागी हुनेछन्। त्यसपछि उनी सेप्टेम्बर २४ मा आयोजना हुने जलवायु शिखर सम्मेलनमा सहभागी हुने गरी तयारी भइरहेको छ ।
विश्वव्यापी रूपमा जलवायु संकटको बढ्दो प्रभावलाई ध्यानमा राख्दै, महासचिवले यो सम्मेलन आयोजना गरेका हुन्, जहाँ विश्व नेताहरूले नयाँ जलवायु कार्य योजनाहरू प्रस्तुत गर्नेछन् र स्वच्छ ऊर्जा युगको फाइदालाई आत्मसात गर्नेछन्।
त्यसै दिन ओलीले समावेशी, दिगो र लचिलो विश्व अर्थतन्त्रको पहिलो द्वैवार्षिक शिखर सम्मेलनमा पनि भाग लिनेछन्, जसमा वित्तीय विकास सम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुनेछ।
यो सम्मेलनले सन् २०३० को एजेन्डा कार्यान्वयन गर्न बहुपक्षीय संस्थाहरू र राष्ट्र नेताहरूबीच सहकार्यलाई बलियो बनाउने लक्ष्य राखेको छ।
सेप्टेम्बर २५ मा ओलीले गैर-संक्रामक रोगहरूको रोकथाम र नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि भाग लिनेछन्।
संयुक्त राष्ट्रसंघले विश्व नेताहरूले सन् २०३० र त्यसपछि पनि गैर-संक्रामक रोगहरूको रोकथाम र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि नयाँ, महत्त्वाकांक्षी र प्राप्त गर्न मिल्ने राजनीतिक घोषणामा सहमति जुटाउने प्रयास गर्नेछन्।
उक्त दिन ओलीले विश्व युवा कार्यक्रमको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने अर्को उच्चस्तरीय बैठकमा पनि भाग लिने छन्।
सन् १९९५ मा महासभाले विश्व युवा कार्य योजना पारित गरेको थियो। सो कार्यक्रमले युवा सम्बन्धी नीति तथा कार्यक्रमहरू निर्माण गर्न विश्वव्यापी कार्य रूपरेखा तयार पारेको थियो।
सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीले केही राष्ट्र प्रमुखहरूसँग भेटघाट गर्ने प्रस्ताव राखिएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने ओलीको टोलीमा नजाने सम्भावना देखिएको मन्त्रालय स्रोतले बताएको छ।
यस वर्ष पनि, संयुक्त राष्ट्रसंघ महासभाको अवसरमा हुने सार्क परराष्ट्र मन्त्रीहरूको बैठक हुन नसक्ने देखिएको छ। भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वले यसमा थप अवरोध पुर्याएको छ।
पछिल्लो पटक भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिक पनि थिए। सो घटनाले भारत–पाकिस्तान सम्बन्धमा तनाव अझ बढाएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, अफगानिस्तान बाहेकका सात सदस्य राष्ट्रहरूलाई सेप्टेम्बर २५ या २६ मा बैठक गर्ने प्रस्ताव गरिएको छ, तर अहिलेसम्म मिति ठोस हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन