जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी महिलामाथि रोल्पामा गोली प्रहार

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १४ : ४३
जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी महिलामाथि रोल्पामा गोली प्रहार

दाङ । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलालाई गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।

जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ बर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए ।

टाउकोमा गोली लागेको र गिदी समेत बाहिर निस्किएको हुँदा बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पुनले प्रहरी समक्ष आफुले हरिन ठानेर ती महिलालाई गोली चलाएको बयान गरेका छन् । हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिन मार्न भनेर आफु बथाना बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गोली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए ।

गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुबेदीले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस