भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, १० : १४
भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरु गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो । विसं २०२० मा बनेको अस्पतालको आकस्मिक कक्षमा जम्मा १० शय्या क्षमता रहेको छ । समयअनुसार बिरामीको चापलाई ध्यान पुर्याएर नयाँ भवन बनाउन लागिएको उनको भनाइ छ । अब बन्ने आकस्मिक कक्षमा ५० शय्या रहनेछन् ।

स्वास्थ्य मन्त्रालयको रु नौ करोडमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । हाल बोलपत्रमा आकस्मिक कक्षका लागि भुइँतला मात्रै बनाइने भए पनि आगामी वर्ष थप दुई तला बनाउन मिल्ने गरी नक्शाङ्कन गरिएको छ । माथिल्लो तलामा ट्रमा सेन्टर बनाउने योजना रहेको डा अधिकारीले बताए ।

आकस्मिक कक्षमा ट्रमा सेन्टरसहित शल्यक्रिया कक्षसमेत रहने अध्यक्ष अधिकारीले जानकारी दिए। उनले भने, “आकस्मिक कक्ष बनेपछि शय्या अभावमा बिरामी बाहिर जानुपर्ने बाध्यता रहँदैन ।” आकस्मिक कक्षका परीक्षणका उपकरणसहित बिरामीलाई सबै सुविधा त्यसैभित्र हुने उनको भनाइ छ । बिरामी आएलगत्तै जटिलताका हिसाबले छुट्याएर बिरामीको उपचार गर्ने व्यवस्था गरिनेछ ।  विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष हुनेछ ।
 
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार आकस्मिक कक्षमा वार्षिक ४० हजार हाराहारी बिरामी आउने गर्दछन् । शय्या थप गरेसँगै यो सङ्ख्या बढ्ने उनले बताए । उनले भने, “ठूलो दुर्घटना हुँदा आकस्मिकरूपमा धेरै बिरामी राखेर उपचार गर्न सकिएको थिएन । नयाँ भवन बनेसँगै अब त्यो सम्भव छ ।”

राजधानी भित्रिने र बाहिरिने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्गलगायतका धेरै सडक सञ्जालसँग जोडिएकाले यहाँ दुर्घटना धेरै हुने गर्दछन् । सरकारी अस्पतालको आकस्मिक कक्ष सानो र सुविधा नहुँदा अधिकांश दुर्घटनाका घाइते निजी मेडिकल कलेजमा लैजानुपर्ने बाध्यता छ ।
 
अहिलेको प्रशासनिक भवनको पछाडि रहेको खाली ठाउँमा आकस्मिक भवन बनाइँदैछ । देशकै मध्यभागमा रहेकाले यहाँ देशका १९ जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । भूकम्पको समयमा पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी यहाँ ल्याएर उपचार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस