निर्वाचनको तयारीमा आयोग, मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन

पत्रपत्रिकाबाट

बुधबार, २२ पुस २०७७, ०८ : ३१
निर्वाचनको तयारीमा आयोग, मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०७७ स्वीकृत गरेको छ । आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले मतदान केन्द्र निर्धारण र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यविधि र कार्यक्रम स्वीकृत गरेको हो ।

१७ र २७ वैशाख २०७८ का लागि तय मध्यावधि निर्वाचनका लागि तयारी अघि बढाएको आयोगले निर्वाचनलक्षित गरेर कार्यविधि र कार्यक्रम स्वीकृत गरिएको जनाएको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदान केन्द्र निर्धारण आधार कार्यविधिमा रहेको र त्यसलाई कार्यान्वयन गर्ने काम कार्यक्रममार्फत हुने जानकारी दिए ।

‘आयोगले मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ, कार्यविधिले केन्द्र निर्धारण गर्ने आधार तय गर्छ, कार्यविधिका प्रावधानका आधारमा मतदान केन्द्र पायक अपायक तथा थप गर्नुपर्ने भए त्यसअनुसार पुनरावलोकन निर्णय हुन्छ,’ आयोग प्रवक्ता श्रेष्ठले मंगलबार राजधानीसँग भने ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु भएकै समय पारेर मतदान केन्द्र निर्धारण, स्थल तथा केन्द्र पुनरावलोकनसहितका विषयमा निर्णय गर्न सहज बनाउन आयोगले यस्तो निर्णय लिएको हो । भोलि २३ पुसबाट जिल्लास्तरमा मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुने छ । राजधानी दैनिकमा खबर छ ।