हामीलाई एकदलिय शासन व्यवस्था कुनैपनि हालतमा स्वीकार्य छैन : सभापति देउवा

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, ११ : ४७
हामीलाई एकदलिय शासन व्यवस्था कुनैपनि हालतमा स्वीकार्य छैन : सभापति देउवा

फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकदलिय शासन व्यवस्था आफुहरुलाई कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् । देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले अचानक चुनाव घोषणा गरेर असम्वैधानिक कार्य गरेको भन्दै त्यसको विरोधमा उत्रीरहने जानकारी समेत दिएका थिए ।

उनले भने, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् । उनले ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

उनले देशलाई हिंसामुक्त बनाएर शान्ति स्थापनाका लागि कांग्रेस लागिरहने बताए । ‘‘पूर्ण हिंसामुक्त देश बनाउनका लागि मानवअधिकारसहितका स्वतन्त्रता हामीले लडेर ल्याएका हौँ । कसैले खोस्न नसक्ने बनाउन चनाखो हुनुपर्छ,’’ देउवाले भने, ‘‘कम्युनिस्ट पार्टी भए पनि लोकतन्त्र मानेर हामीसँगै सहयात्रा गरेर यहाँ आएका हुन् । हामीलाई एकदलीय शासन कुनै पनि हालतमा स्वीकार्य छैन ।’’

यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।’

उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए । ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने । तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने उनले बताए ।

कुनै पनि बहानामा एकदलीय शासन पद्दती नमान्ने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’