बेलायतबाट आएका ५  जनामा कोरोना संक्रमण, नयाँ प्रजातिको आशंका

पत्रपत्रिकाबाट

मंगलबार, १४ पुस २०७७, ०७ : ४३
बेलायतबाट आएका ५  जनामा कोरोना संक्रमण, नयाँ प्रजातिको आशंका

काठमाडौँ । बेलायतबाट फर्केका ५ जनामा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको होरहोइन भन्ने यकिन गर्न अनुसन्धान सुरु भएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस फैलिइरहेकाले उनीहरूमा पनि त्यसैको संक्रमण भएको आशंका गरिएको हो ।

पहिले देखिएको ‘सार्स सीओभी–२’ को दाँजोमा ७० प्रतिशत छिटो फैलिने नयाँ स्वरूपको कोरोनाको जोखिममा नेपाल रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

बेलायतबाट फर्केका संक्रमित व्यक्तिको नमुना विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को सहयोगमा परीक्षण गरेर नयाँ खाले कोरोना भाइरस भए नभएको किटान गरिने स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले बताए ।

‘वेलायतबाट फर्किएकाहरूमध्ये हालसम्म ५ जनामा कोभिड देखिएको छ,’ उनले भने, ‘बेलायतवाट आएकाहरू विभिन्न प्रदेशमा समेत गइसकेकाले उहाँहरूलाई स्थानीय तहहरूमार्फत निरन्तर फलोअप गर्न भनेका छौं । उहाँहरूलाई १० दिनसम्म अनिवार्य आइसोलेसनमा राख्नसमेत भनेका छौं ।’

बेलायतबाट पुस १ गते यता फर्किएका १ सय ९३ जना सम्पर्कमै रहेको सरकारी अधिकारीहरूको दाबी छ । उनीहरूमा लक्षण नभए पनि नमुना लिइने र उनीहरूको निकट सम्पर्कमा रहेकाहरूमा लक्षण देखिँदा नमुना लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षणमा कोभिड पोजिटिभ आउँदा नयाँ भाइरसको शंकास्पद केसका रूपमा लिने रणनीति स्वास्थ्य मन्त्रालयको छ ।

‘बेलायतबाट र बेलायत भएर आउने हाम्रो सूचीमा छुटेका भएका भए उहाँहरू सबैलाई सरकारी प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण गराउन अनुरोध गर्छौं,’ डा।पाण्डेले भने, ‘सकेसम्म सबै व्यक्तिको नमुना लिएर परीक्षण गर्ने र शंकास्पद नमुनामा नयाँ प्रजातिको कोभिड हो वा होइन भनेर पहिचानको प्रयास गरिनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस