जनताको पैसामा मोजमस्ती गर्नेको दिन सकिँदै, तात्यो 'अख्तियार'

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, १० : २७
जनताको पैसामा मोजमस्ती गर्नेको दिन सकिँदै, तात्यो 'अख्तियार'

काठमाडौं । नेपाली जनताले खाइ न खाइ दुःख गरेर कमाएको निक्षेप माथि बम्हलुट गर्दै आएका बैंक तथा वित्तीय संस्थाका मुखियाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तह लगाउने भएको छ । नागरिकको निक्षेपलाई विवाह गर्दा ससुरालीबाट पाएको दाइजो जसरी लुटपाट गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च पदस्थ कर्मचारीलाई अब कारवाहीको दायरमा ल्याइने भएको हो ।

पछिल्ला दिनमा अख्तियारले शुरु गरेको छानबनि प्रक्रियाले पनि त्यसैलाई संकेत गरेको छ । नागरिकको पैसामाथि धेरै भन्दा धेरै ज्यादती भएको तथ्य र प्रमाणहरुले पनि देखाइसकेको छ । जे जस्ता विशेषण लगाएपनि नागरिकको पैसामा मोजमस्ती गर्नेमा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनी र ‘घ’ वर्गका लघुवित्त संस्था कोही पनि चोखा छैनन् । कोही अलिक बढी होलान् त कोही अलिक बढी बदमास होलान् । मात्रा र परिमाण मात्रै फकर होला । 

अख्तियारले क्रमशः त्यस्ता संस्थालाई नियमन गर्ने र कारवाहीको दायरमा समेत ल्याउने तयारी थालेपछि बैंकका ठगहरु समेत थर्कमान हुन थालेका छन् । सोही क्रममा बैंक तथा वित्तीय संस्थाले गरेकोे बदमासी छानबिनमा हात हालेको अख्तियारले पुनः अर्को वित्तीय संस्थाका पदाधिकारीले गरेको बदमासीमा चासो देखाएको छ । अख्तियारले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका कर्मचारी सहायक महाप्रबन्धक प्रदिपबहादुर खड्कालगायत १२ जनालाई ७ दिनभित्र हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ । सार्वजनिक सम्पत्तिको हानी नोक्सानी समेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा केही कुरा बुझ्नुपर्ने भएको भन्दै अख्तियारले ७ दिने सूचना जारी गरेको हो । 

कामनपा २३ चिकुमंगल बस्ने रोयल मर्चेन्टका सहायक महाप्रबन्धकसहितले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याई बदमासी गरेको पाइएको अख्तियारले जनाएको छ ।  यस्तै साधारण सेयरधनीका तर्फबाट सो फाइनान्सका सञ्चालक भरतकाजी श्रेष्ठलाई समेत अख्तियारले ७ दिनभित्र उपस्थित हुन भनेको छ । उनी काठमाडौं बुद्धनगरका स्थायी बासिन्दा हुन् । बादशाह फुडल्याण्डका ऋषिस्वर थपलिया, फाइनान्सका ऋणी एनबिडिएस सुपरमार्टका सञ्चालक अनोज श्रेष्ठ, फाइनान्सका सहायक महाप्रबन्धक रामचन्द्र बसौला, हजुरको हार्डवेयर पसलका सञ्चालक समेत रहेका ऋणी मुकुन्दप्रसाद पराजुलीलाई पनि ७ दिन भित्र उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना जारी गरेको छ ।

अख्तियारका अनुसार साविक एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्यांकनकर्ता सिटी इन्जिनियरिङका नरेश स्वाँर, एपेक्स डेभलपमेन्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनीका सञ्चालक रामबहादुर शाहलाई पनि ७ दिन भित्र उपस्थित हुन भनिएको छ ।

यस्तै, रोयल मर्चेन्ट बंैकिङ उण्ड फाइनान्सका कर्मचारी देवराज ढुंगाना, रोश इन्जिनियरिङ कन्सल्टेन्सीका कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई उपस्थित हुन भनिएको अख्तियारले जनाएको छ । एनसीसी बैंकले प्राप्ति गरेको साविक एपेक्स बैंकबाट झण्डै डेढ अर्ब रुपैयाँ बराबरको घोटाला गरिएको बताइएको छ । घोटालामा संलग्न व्यक्तिहरुलाई बयानका लागि बोलाएको अख्तियारले उल्लेख गरेको छ । उक्त बैंक घोटाला काण्ड २०७० सालमा रचिएको नेपाली बैंकिङ क्षेत्रको कुख्यात काण्डका रुपमा लिने गरिएको छ । साविक  रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपि फाइनान्स मर्जर पश्चात एपेक्स बैंकको नाममा कारोबार गरिएको थियो । 
सो बैंकको एकीकृत कारोबार शुरु हुनु अगावै रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाममा प्रवाह भएका कर्जामा किर्ते गरेर कमसल धितो लिइएको थियो ।

उक्त प्रकरणमा बैंकलाई डेढ अर्ब बढि घाटा लागेको बताइन्छ । सोही घाटाको भार हाल एनसीसी बैंकमाथि परेको बताइन्छ । यस्तै विगत ३ वर्षदेखि महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा अनियमितता हुँदै आएको पाइएको छ । स्रोतका अनुसार बैंकका कर्मचारीकै मिलेमतोमा ७ करोड ४८ लाख रुपैयाँ बिगो बराबरको रकम घोटाला भएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको अनुसन्धानले देखाएको छ । कमसल र कम परिमाणको सुन राखेर बढी कर्जा प्रवाह गरी घोटाला भएको पाइएको हो । सिआइबीले कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरको आरोपमा ३ जनालाई पक्राउ गरेपछि उक्त तथ्यको खुलासा भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्दिप लिम्बू, देवेन्द्र राई र पूर्ण राई रहेका छन् ।

उक्त घोटालामा संलग्न भएको आरोपमा कर्मचारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको सिआइबीले जनाएको छ । सो सम्बन्धी मुद्दा अख्तियारमा समेत पुगेको स्रोतले जनाएको छ । जानकारहरुका अनुसार मिलेमतोमा कम र कमसल सुन राखेर बढी कर्जा प्रवाह गर्ने बैंकका कर्मचारी भने फरार रहेका छन् । कमसल र कम सुन धितो राखेर कर्जा लिई नतिरेपछि घोटाला भएको पाइएको थियो । धितो राखेको सुन बिक्री गर्न लाग्दा घोटाला भएको पाइएको स्रोतको दावी छ ।  कर्जा प्रवाह गर्दा धितो राखेको सुनको भाउ ४० प्रतिशतसम्म वृद्धि हुँदासमेत कर्जाको रकम उठ्न नसक्ने अवस्था आएको पाइएपछि घोटाला भएको विष सार्वजनिक भएको थियो ।

मिलेमतोमा कर्जा प्रवाह गर्ने बैंकका तत्कालीन कर्मचारी भने हालसम्म फरार छन् । यस्तै हिमालयन शमशेरले तत्कालीन राजा महेन्द्रको कृपामा नेपाल राष्ट्र बैंकको गभर्नरु हुने सौभाग्य पाएका थिए । सोही अवसरको प्रयोग गर्दै उनले आफ्नै नाममा हिमालयन बैंक स्थापना गरे । अन्ततः सो बैंक र नेपाल इनभेस्टमेन्ट बैंकबीच एक आपसमा मर्ज हुने भएको छ । पछिल्ला दिनमा बैंकलाई प्रभावकारी रुपमा चलाउन नसकेको हिमालयन र इनभेस्टमेन्ट बैंकले एक आपसमा मिलेर झण्डै २३ अर्ब रुपैयाँ बराबरको चुक्तापूँजी बनाउने तयारी गरेको छ । समस्यै समस्यामा फसेको बैंकलाई राहत दिने लक्ष्यका साथ एकाएक मर्जरको हल्ला चलाइएको बताइन्छ । मर्जरमा गएपछि नेपाल राष्ट्र बैंकबाट पाउने सुविधाका लागि हतारो गरिएको बताइन्छ ।