फिफा विश्वकप–२०२६

एसियाको दक्षिण कोरियाको विजयी शुरूआत

एजेन्सी

शुक्रबार, २९ जेठ २०८३, १० : २९
एसियाको दक्षिण कोरियाको विजयी शुरूआत

एजेन्सी । फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ ।

दक्षिण कोरियाले शुक्रबार बिहान सम्पन्न खेलमा बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो प्रतियोगिताको समूह ‘ए’मा रहेका चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । यसअघि, आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो ।

तीन अंकसहित आयोजक मेक्सिको तालिकाको पहिलो स्थानमा आसिन छ । तीन अंकसहित दक्षिण कोरिया दोस्रो स्थानमा छ । चेक गणतन्त्र र दक्षिण अफ्रिकाले भने खाता खोल्न सकेका छैनन् ।

मेक्सिकोको एस्टाडियो एक्रोनमा खेलिएको खेलको पहिलो हाफ गोरहित बराबरीमा सकिएको थियो । कोरियाली खेलाडीले अधिकांश समय आफ्नो खुट्टामा बल नचाए पनि चेकियाले शुरूआती अग्रता लियो । निर्धारित समयको ५९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लाडिस्लाभ क्रेजकीले पहिलो गोल गरे । तर, चेक गणतन्त्रको त्यो अग्रता लामो समय टिक्न सकेन ।

निर्धारित समयको ६७औँ मिनेटमै दक्षिण कोरियाका ह्वाङ इन–बिओमले जवाफी गोल फर्काए । खेलको ८०औँ मिनेटमा ओह हेयोन–ग्यूले अर्को गोल थप्दै कोरियालाई पहिलो खेलबाटै तीन अंक दिलाए । खेलका क्रममा चेक गणतन्त्रका टोमस सौसेकले गरेको एउटा आकर्षक गोललाई रेफ्रीले अफसाइड घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस