भरतपुरलाई ‘हेल्दी सिटी’ बनाउँछौँ : मेयर रेनु दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, ११ : ५६
भरतपुरलाई ‘हेल्दी सिटी’ बनाउँछौँ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले भरतपुरलाई ‘हेल्दी सिटी’ बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । बिहीबार भर्चुअलरुपमा सम्पन्न पाँचौँ एपीक्याट सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपीक्याट) को पाँचौ शिखर सम्मेलन छबृुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।

गत बर्ष असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । सो अनुसार भरतपुर महानगरले गत पुसको दोस्रो साता चितवनको भरतपुरमा १६ देखि १८ मंसिर २०७७ (१ देखि ३ डिसेम्बर २०२०) मा गर्ने निर्णय गरेको थियो । त्यसबेला भरतपुरमा हुने पाँचौँ सम्मेलनमा १५० जना विदेशीसहित ३०० जनाभन्दा बढीको सहभागिता हुने बताइएको थियो । तर विश्वभर देखिएको कोरोना महामारीको कारण सम्मेलन भौतिक रुपमा भेला नभई भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

पाँचौँ सम्मेलन आयोजक समितिका सभापति एवं भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले विश्वभर देखिएको कोरोनाका कारण गतवर्ष घोषणा गरेजसरी सहभागीहरुलाई चितवनमा स्वागत गरी कार्यक्रम गर्न नपाइएको बताइन । तर, उनले गतवर्ष बोगर सिटिमा भएको सम्मेलनमा गरेको प्रतिवद्धता अनुसार महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी विभिन्न गतिविधि गरेको बताइन ।

महानगर भित्र सार्वजनिक स्थानमा सुर्तीजन्य प्रयोगमा निषेध गरिएको, त्यस सम्वन्धी सूचनाहरु टास गरिएको, सञ्चारकर्मीहरुसंग यसबारेमा अन्तरक्रिया गरिएको जानकारी दिइन । उनले कोभिड महामारीपछि महानगरले महामारी रोक्नका लागि गरेका गतिविधिबारे समेत बताइन ।

कार्यक्रममा इन्डोनेसियाका स्वास्थ्य मन्त्री प्राडा मुहाफिर इफन्डिए, म्यानमारका स्वास्थ्य मन्त्री डा. माइन्ट वाई, इन्डोनेसिया स्वास्थ्य मन्त्रालयका महासचिव डा. ओस्कार प्रिमोडी लगायतले बोलेका थिए ।

कार्यक्रमका ‘को–चियर’ बनेका फिलिपिन्सका फ्रान्सिस ए ग्रासिया, व्लुम्बर्ग फिलान्थ्रोपिकका क्यालि लार्सन, विश्व स्वास्थ्य संगठनका डा. गुई फोनिस, द युनियनका डा गुई मार्कस, डा. तारासिंंह बम लगायतले कोभिड १९ को महामारी र सुर्तीजन्य पदार्थ नियन्त्रणको सन्दर्भ जोडेर बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस