घर जलेपछि रेनुको गुनासो : ‘रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ’

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०८२, १३ : ०२
घर जलेपछि रेनुको गुनासो : ‘रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ’

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल जेन जेड आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् ।

२४ गतेको जेन जेड आन्दोलनका क्रममा रेनु दाहाल र उनका श्रीमान् बस्दै आएको भरतपुर २१, शिवनगरस्थित घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।

आन्दोलनकारीहरूले घरभित्र थुप्रै सिलिन्डर हालेर विस्फोट गराएका भिडिओहरू सार्वजनिक भएका छन् । यो घर खासमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नै बनाएका हुन् । रेनु बस्न थालेको ५ महिना जति मात्रै भएको थियो ।

रेनुको आफ्नो घर काठमाडौँमा रहेको छ । उक्त घरमा पनि तोडफोड भएको थियो । तर, आगजनीबाट भने जोगियो । शिवनगरको घर भने बस्नै नमिल्ने गरी ध्वस्त भएको छ । घर निरीक्षणका क्रममा उनलाई कार्यकर्ताहरूले आन्दोलनकारीहरू सिलिन्डर बोकेरै आएको र भित्र रहेका सिलिन्डर पनि विस्फोट गराएको बताएका थिए ।

रेनुका अनुसार घरमा आगजनी हुँदा उनी भरतपुर उपमहानगरमा थिइन् । कार्यालय पुगेर एउटा विज्ञप्ति जारी गरिन् । तर, महानगरभित्रै आक्रमण भयो र उनीसहित सबै भाग्नुपर्‍यो । त्यसपछि केही दिन भूमिगत भएर उनी अहिले फेरि काममा फर्केकी छिन् ।

प्रतिक्रिया दिनुहोस