रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस स्तब्ध

एजेन्सी

विहीबार, ०२ पुस २०७७, ०९ : १४
रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस स्तब्ध

एजेन्सी । क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा साबिक विजेता युभेन्टस जित बिहीन बनेको छ । युभेन्टस इटालियन सिरिए ए का १२ खेलमा छैटौँ पटक बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस फेरि पनि १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।

फेडेरिको चिएसाले युभेका लागि पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रेमो फ्रेउलरले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

रोनाल्डोले युभेलाई पेनाल्टीबाट जीत दिलाउने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्नबाट चुके । उनको प्रहारलाई गोलकिपर पियरलिुइजी गोलिनीले बचाऊ गरे । सन् २०१९ को जनवरी यता रोनाल्डोको पेनाल्टी रोक्ने गोलिनी पहिलो गोलकिपर हुन् । एस्टन भिल्लाका पूर्व गोलकिपरले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अल्भारो मोराटालाई पनि गोल गर्नबाट रोकेका थिए ।

पछिल्ला ९ लिग उपाधि जितेको युभे १२ खेलपछि लिगमा अपराजित रहेको छ तर यसमध्ये आधामा बराबरीमा रोएिको छ । बराबरी पछि युभे लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।  शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभे ४ अंकले पछि छ । मिलानले पनि जेनोआसँग २–२ को बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस