रक्तसंचार केन्द्रको लागि भरतपुर अस्पताल परिसरमै जग्गा उपलब्ध हुनेछ : महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १३ : ५२
रक्तसंचार केन्द्रको लागि भरतपुर अस्पताल परिसरमै जग्गा उपलब्ध हुनेछ : महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रक्तसंचार केन्द्रको लागि भरतपुर अस्पताल परिसरमै जग्गा उपलब्ध हुने बताएकी छिन् ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले बुधबार नारायणगढमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी  प्रशिक्षक प्रशि़क्षण तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

रेडक्रस चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर दाहालले भनिन्, ‘नेपाल रेडक्रस सोसाइटीले सबै प्रकारका संकटहरूमा राष्ट्र र समाजलाई उल्लेख्य सहयोग पुर्याइरहेको छ ।’ उनले नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढिरहेको भन्दै खुसी ब्यक्त गरिन् ।

मेयर दाहालले स्वयमसेवी संस्था रेडक्रसले समुदायको हित र सरकारसंगको सहकार्यमा रचनात्मक रूपमा काम गरिरहेको बताउँदै यसलाई अझै ब्यवस्थित र बिस्तार गर्दै लैजानु पर्ने बताइन् । रेडक्रसद्वारा संचालित रक्तसंचार केन्द्रको स्तर उन्नतिका लागि जग्गा ब्यवस्थापनको काम पनि भरतपुर महानगरपालिकाकै पहलमा भएको भन्दै मेयर दाहालले रक्तसंचार केन्द्रको लागि आवस्यक पर्ने जमिन भरतपुर अस्पताल परिसरमै ब्यवस्था गरिएको  जानकारी दिइन् । महानगर प्रमुख दाहालले प्रशिक्षार्थीहरूलाइ तालिममा सिकेका सिपलाई समुदायको श्रीवृद्धिमा उपयोग गर्न आग्रह गर्दै तालिमको सफलताको शुभकामना दिइन् ।

सरसफाइ सम्बन्धी पाँचदिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष तिर्थराज घिमिरेले  रेडक्रसले मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधिहरू गरिरहेको बताए । उनले तालिमका सहभागीहरूलाई तालिममा सिकेका बिषयहरूलाई समुदायमा गएर प्रयोगमा ल्याई तालिमलाई सार्थक बनाउन आग्रह गरे ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष तथा उपप्राध्यापक डा. भोजराज अधिकारीले दिगो र आत्मनिर्भर विकासको लक्ष्य हासिल गर्न शुद्ध पिउने पानी र सरसफाइ महत्वपूर्ण रहेको भन्दै यस खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी प्रशिक्षार्थीहरूले तालिममा सिकेका ज्ञान र सिपहरूलाई  आफू, घरपरिवार र समुदायमा गएर प्रयोगमा ल्याउन आग्रह गरे । उपप्राध्यापक डा. अधिकारिले बदलिँदो परिवेशसंगै मनोपरामर्श र सरसफाइ मानव जीवन र सभ्यताको अभिन्न अंग भएको बताउँदै विश्वब्यापी स्वयंसेवी संस्था रेडक्रसलाई यस्ता रचनात्मक कार्यक्रम आयोजना गरी जनचेतना जागृत गर्ने कार्यक्रम आयोजना गरेकोमा कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री हरिप्रसाद न्यौपानेले रेडक्रसकर्मीहरू समुदायलाई सुसूचित गर्दै समुदायकै रूपान्तरणमा लाग्नुपर्ने बताए । 

कार्यक्रममा रेडक्रस अभियन्ता तथा प्रशिक्षकहरूले तालिमको आवश्यकता र यसका उपलब्धीहरूका बिषयमा आआफ्नो धारणा राखेका थिए । तालिममा रेडक्रसकर्मी तथा स्वयमसेवक गरी ३० जना सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस