काठमाडौं । चालू आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् ।
गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।
एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत तोकेको छ । त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।
बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ । नेपाल एसबीआई बैङ्कले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।
त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६.५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । लगानीतर्फ बैङ्कले १२.५ प्रतिशतदेखि १४.५ प्रतिशतसम्मको ब्याज तय गरेको छ । एनआईसी एसियाले साधारण बचतमा १.५ प्रतिशत र मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दर तोकेको छ ।
यसअघि बैङ्कले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । नबिल बैङ्कले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८.१० प्रतिशतसम्म ब्याज दर तोकेको छ । बैङ्कले विभिन्न कर्जामा लिने ब्याज दर भने १०.३७ देखि ११.३७ प्रतिशतसम्मको तोकेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ पुस २०७७, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर