हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १४ : ११
हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने

फाइल तस्विर

काठमाडौँ । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । 

अब भने कोठा पनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको उनले बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ८० जनालाई कृषि फार्मममा लगाउने पनि पन्तले बताए ।

हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस