‘भरतपुर शिक्षाको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ’ : महानगर प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, ११ : ०३
‘भरतपुर शिक्षाको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ’ : महानगर प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षाको क्षेत्रमा भरतपुरले उल्लेख्य काम गर्न सफल भएको बताएकी छिन् । त्यसमा पनि प्राविधिक प्राविधिक क्षेत्रको पढाई तर्फ भरतपुरले फड्को नै मार्न थालेको उनको भनाई छ ।  मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा बहुप्राविधिक प्रशासनिक भवनको शिल्यान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले जगतपुरमै होटल म्यानेजमेन्टको पढाई ल्याउन सकिएको र गुरुयोजना बमोजिम आवश्यक पुर्वाधारमा महानगरले सहयोग गर्ने बताईन् । 

‘यो निर्माण हुन थालेको शिक्षालयले देश सुहाउदो श्रम र सिपलाइ सम्मान गर्दै  सिप मार्फत रोजगारी सृजना गर्ने र जनशक्ती उत्पादन गर्नेछ’,उनले भनिन्–‘ यो निर्माण हुन थालेको शिक्षालय आवासिय अवधारणा अनुशार संचालन हुनेछ ।’ प्रमुख दाहालले यो शिक्षालयको निर्माणमा संघ प्रदेश, सिटिइभिटी र भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै यसलाइ गतिका साथ अगाढी बढाउन बजेटको कुनै समस्या नहुने प्रतिबद्दता व्यक्त गरिन् । उनले शिक्षालयका प्रमुखलाई शिक्षालय निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउन आग्रह गरिन् । 

कार्यक्रममा प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा निर्वाचित भएर आए लगत्तै महानगरको समग्र बिकास कसरी गर्न सकिन्छ भन्नेमा चिन्तनशिल रही कामलाइ अगाढी बढाएको धारणा राखिन् । आफुले शुरुवात गरेको कामहरूको परिणाम देखिने चरणमा पुगेको बताउदै उनले अबको २ बर्षमा अधिकांश योजनाहरु पुरा हुने दाबी गरिन्  । उनले शिक्षाको क्षेत्रमा भरतपुरले उल्लेख्य काम गरिरहेपनि चितवन ईन्जिनियरिंग कलेज र यस प्राबिधिक शिक्षालयको सूरूवातले भरतपुर प्राविधिक शिक्षाको क्षेत्रमा एतिहासिक परिणाम दिन सफल हुने बिश्वास ब्यक्त गरिन् ।

उनले भरतपुर महानगरपालिकाले नगरबासीको चाहना अनुसार सबै कामहरू अगाढी बढाएको बताउदै हालसम्म भएका बिकासको काममा नगरवासीले अपनत्व ग्रहण गरेको महसुस आफूलाइ भएको बताइन् । महानगरका गौरबका ठूला आयोजनाहरू लिंकरोड, रिंगरोड, महानगरिय सिटी हल, गौतमबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला, पूल्चोक गोन्द्राङ सौन्दर्यीकरण सहितको ६ लेन सडक, सहरका मूख्य सडकहरूमा स्मार्ट स्ट्रिट लाइट जडान, नारायणी नदि किनारलाइ सी बिच मोडलको रूपमा निर्माणका कामहरू अगाढी बढिरहेको बताउदै उनले बिमानस्थलको विस्तार, शहरभित्रका सडकहरूमा बिजुली, टेलिफोनका तारहरू भूमिगत प्रणालिमा ब्यवस्थापन गर्ने लगायतका कामहरूको डिपिआर अन्तिम चरणमा रहेको समेत बताइन् ।

कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष बिष्णु राज महतोले जगतपूरमा संचालित भरतपुर बहू प्राबिधिक शिक्षालयले समग्र भरतपुरको समृद्दीको यात्रा तय गर्ने बताए । उनले यसै शैक्षिक सत्रबाट सूरू हुने होटल म्यानेज्मेन्टको पढाइबाट सिप सिकेर लाभान्वित हुन बालबालिकालाई आग्रह गरे ।  कार्यक्रममा वडा नम्बर २४ का अध्यक्ष कान्छा मल्ल र वडा न २५ का अध्यक्ष बिजय भुजेलले निर्माणाधिन शिक्षालय भरतपुर महानगरको गहना भएको बताउदैं उद्येश्य अनुसारका प्राबिधिक कार्यक्रमहरू संचालन गरी जिवन उपयोगी ज्ञान र सिप भएका दक्ष जनशक्ती उत्पादन गरी राष्ट्रलाइ नै योगदान दिन सक्नुपर्नेमा जोड दिए ।

भरतपुर बहूप्राबिधिक शिक्षालयका प्रमुख बज्रमोहन पौडेलले बहूप्राबिधिक बिद्यालयको बारेमा जानकारी गराउदै निर्माणाधिन शिक्षालय वाग्मती प्रदेश स्तरको रहेको र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीको अन्तिम चरणमा रहेको बताए । उनले यो बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने पनि जानकारी दिए । शिलान्यास गरिएको बहु प्राबिधिक शिक्षालय निर्माणका लागि सरस्वती माध्यमिक विद्यालय जगतपूरले ३ बिघा जग्गा प्रदान गरेको छ । हाल सरस्वती मावि परिसरमै होटल म्यानेजमेन्टका प्राबिधिक बिषयको अध्ययन सूरू गरिसकिएको छ ।

‘आज शिलान्यास गरिएको प्रसासनिक भवन १ करोड ३ लाख रूपैंयाको लागतमा निर्माण हुने र निर्माणाधिन प्रशासनिक भवन शिक्षालयको गूरूयोजना बमोजिम अगाढी बढाइएको छ’–शिक्षालयका प्रमुख बज्रमोहन पौडेलले भने । आगामी बर्षको कार्यक्रममा नर्सिंग  र फार्मेसी बिषयको पढाइ हुने उनले बताए । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा प्रसासनिक भवन शिलान्यास गरिएको हो । शिलन्यास कार्यक्रम वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस