काठमाडौँ–रक्सौल जोड्ने रेल : डीपीआर बनाउन भारतलाई अनुमति

पत्रपत्रिकाबाट

सोमबार, २२ मंसिर २०७७, ०८ : १६
काठमाडौँ–रक्सौल जोड्ने रेल : डीपीआर बनाउन भारतलाई अनुमति

काठमाडौं । सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति प्रदान गरिएको जानकारी दिए । रेलमार्ग निर्माणको डीपीआर तथा निर्माण कार्य अगाडि बढाउन भारतले गएको भदौमा नेपाल सरकारसँग औपचारिक अनुमति मागेको थियो ।

रेलमार्गको डीपीआरसहित सम्पूर्ण निर्माण कार्य सुरु गर्नुअघि भारतद्वारा पठाइएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो रायसहित डीपीआर लगायत निर्माण कार्य अगाडि बढाउन स्वीकृति प्रदान गरी भारतलाई पत्र पठाइसकिएको सचिव श्रेष्ठले जानकारी दिए ।गोरखापत्रमा खबर छ ।