सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

रासस

बुधबार, १७ मंसिर २०७७, १८ : ५४
सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

काठमाडौँ । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ  । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका –२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था  छ ।  

मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री गर्न पाउने अख्तियारी पाएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिनुभयो ।  राप्ती गाउँपालिकाभित्र रहेका सहकारी छनोट गरी अनुदानको रासायनिक मल बिक्रीवितरणका लागि कार्यक्षेत्र समेत तोकिएको छ ।

सोअनुसार इच्छुक स्मृति कृषि सहकारी संस्थाले    वडा नं १, २ का पूरै र ३ नं वडाको मसुरिया बड्का गल्लीबाट पूर्वी भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्थाले वडा नं ४ को पूरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक सीमा भट्टले जानकारी दिनुभयो ।  

त्यसैगरी गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्थाले साविक गङ्गापरस्पुर गाविस –४ र ६ तथा साविक गढवा गाविसका २, ३ र ४, जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साविक गढवाका १ र ५ तथा कोइलावास गाविस, परी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ८ र ९  तथा प्रभावकारी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ६ र ७ मा मलखाद बिक्रीवितरण गर्न पाउने अख्तियारी पाएका छन् ।  

नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती  र गढवा गाउँपालिकाका कृषकलाई कार्यालयबाट छनोट भएका सहकारीको बिक्री मूल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मूल्यमा लोड अनलोड वापत प्रतिबोरा ५० केजीको रु १४ तथा ढुवानी खर्च र व्यवस्थापन खर्चवापत रु ५०  गरी प्रतिबोरा रु ६४ मात्र थप गरेर बिक्री  मूल्य निर्धारण गर्ने बताइएको छ ।