कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार पुग्ने गर्छिन् । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशमा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन् ।
बिहान ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन । ‘जति पटक आए पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ’, उनले दुखेसो पोखिन् ।
उनीसँगै घोडाघोडी– ३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसकेकी छिन् । धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन् । एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, ‘तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसकेँ, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ ।’
घोडाघोडी नगरपालिका– १ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरूको भीड लाग्ने गर्छ । सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन् । कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन् ।
घोडाघोडी नगरपालिका– ३ का ज्ञानु चौधरीले मलबिना नै गहुँ छरिसकेकी छिन् । ‘समयमै गहुँ छर्नुपर्याे, मलको आश गर्दै बस्दा ढिला हुने भयो’, उनले भनिन् ।
ज्ञानुले जस्तै घोडाघोडी– ८ का डम्बर विष्टले मलबिना नै गहुँ छरेका छन् । जसोतसो सहकारीमा लाइन लागेर आज बल्ल पाएको उनले सुनाए । अहिले धेरै किसान मलको आशामा बसिरहेका छन् । गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ । समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन् । युरिया मलको अभाव रहेपनि डिएपी मल धेरै जसो किसानले पाइसकेका छन् ।
समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन् । उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ ।
कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ । धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ । युरियामा पाइने नाइट्रोजन डिएपीमा १८ प्रतिशत हुन्छ । त्यसैले सुरुमा डिएपी मल भए पुग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार
रासायनिक मल भित्रिन थाल्यो
कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
मलको अभाव हुँदा खेती गर्न समस्या