भारतीय विदेश सचिव आज काठमाडौं आउँदै, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मलाई आजै भेट्ने

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ०८ : ५८
भारतीय विदेश सचिव आज काठमाडौं आउँदै, राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मलाई आजै भेट्ने

काठमाडौं । नेपाल भारतबीच सिमा विवाद चर्किरहेका बेला भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदैछन् । परराष्ट्रसचिव स्तरीय वार्ताका लागि उनी दुई दिने भ्रमणका क्रममा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । गत वर्ष देखि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले एकतर्फी सडक मार्ग खोल्ने काम गरेपछि दुई देशबीचको सिमा विवाद उत्र्कषमा छ । भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सामा समेटेपछि त झन यसले ठूलै रडाको मच्चाएको छ । नेपालले पनि आफ्नो नक्सामा ति भूमि समेटेर संसदबाटै एकमतका साथ नक्सा पारित गर्ने देखि संविधान संसोधनको काम समेत गरेपछि त दुई देशका बीचमा सम्वाद समेत हुन सकेको थिएन् ।

तर पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले आफ्नै रुचीका आधारमा राजनीतिक तहमा सम्वाद गर्नुको साटो विवादास्पद खुफिया एजेन्सीका प्रमुख सामन्तकुमार गोयललाई नेपाल निम्ताएर सम्वादको ट्रयाक खोलेका थिए । गोयलपछि त्यहाँका सेनाध्यग मनोज मुकुन्द नरवाणे र त्यसपछि अहिले विदेश सचिव श्रृंखला काठमाडौं आउन लागेका हुन । दुई देशका परराष्ट्र सचिव स्तरमा हुने वार्तामा सिमा विवाद एउटा औपचारिक एजेण्डा बन्ने अपेक्षा गरिएपनि यसमा कुनै ठोस एजेण्डा नरहेको परराष्ट स्रोतले बताएको छ । तर परराष्ट्रसचिव स्तरीय वार्तामा भने नेपाली पक्षले यो विषय प्रवेश गराउने तयारी भने गरेको स्रोतको भनाई छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउन लागेका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने छन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । उनले जनता समाजवादी पार्टीका नेताहरुसँग सामुहिक र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्न सक्ने बताईएको छ । यद्यपी, यसको भने कार्यतालिका बनिसकेको छैन् ।

उनको भ्रमणका क्रममा सरकारले विशेष सुरक्षा सर्तकता अपनाउने भएको छ । छिमेकी देशका एक जना कर्मचारीको सुरक्षा र भ्रमणलाई नेपालले दिएको महत्ववाट नेपाल सरकार भारतसँग सम्बन्ध सुधारका लागि कतिसम्म गर्न चाहिरहेको छ भन्ने सन्देश दिन खोजेको परराष्ट्रका अधिकारीहरु बताँउछन् ।

श्रृंगलाले भोलि शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम पनि रहेको छ । त्यसपछि एउटा टक कार्यक्रममा सहभागी भएर उनी भोलि नै स्वदेश फर्किने कार्यक्रम छ । काठमाडौंस्थित भारतीय राजदूताबास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।

नेपाली भाषामै राम्रोसँग बोल्न सक्ने विदेश सचिव श्रृंगलाको भ्रमण पछि दुई देशका बीचमा उच्चस्तरको राजनीतिक भ्रमणहरु हुने अनुमान परराष्ट्रले बनाएको छ । परराष्ट्र सचिव स्तरको वार्तापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यसै महिनाको अन्मितसम्म भारत भ्रमणमा जान सक्ने र भारतबाट पनि गृहमन्त्री या रक्षामन्त्रीको नेपाल भ्रमण हुन सक्ने अड्कलबाजी पनि हुन थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस