नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

पत्रपत्रिकाबाट

विहीबार, ११ मंसिर २०७७, ०८ : १२
नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।
दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् ।

दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् । 

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्ड पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमा गम्भीर धक्का पुगेको बताएका छन् । ‘यसरी आफूखुसी पुस्तक निकालेर वितरण गर्ने कार्य अत्यन्तै गलत र आपत्तिजनक छ,’ पोखरेलले भने ।

ओली पक्ष नेताहरूले अध्यक्ष प्रचण्ड र नेपाल समूहले अनधिकृत रूपमा दस्तावेज छापेर तलसम्म पु¥याउने काम गर्नुले उनीहरू पार्टी फुटाउन उद्यत भएको पुष्टि हुने बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सचिवालयमा छलफलकै क्रममा रहेको दस्तावेज बाहिर बाँड्नु गलत भएको बताए ।

 पार्टीको विधि पद्धति भएको उल्लेख गर्दै नेम्वाङले भने, ‘अहिलेसम्मको चलनअनुसार पार्टीले निर्णय गरेर मात्रै दस्तावेजहरू प्रकाशन गर्ने र जुन तहसम्म लैजाने निर्णय भएको हो, त्यसैका आधारमा लैजानु पर्नेमा आफूखुसी प्रक्रिया मिचेर दस्तावेज प्रकाशन गरिएको छ ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस