काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्। बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले गत वर्ष पहिलो पटक आयोजना गरिएको ह्याकाथनको यो दोस्रो संस्करण हो।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी खुला आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदनमध्ये उत्कृष्ट टोली छनोट गरी प्रतियोगितामा सहभागी गराइएको बैंकले जनाएको छ।
दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगितामा १४ टोली सहभागी छन्। पहिलो चरणअन्तर्गत प्रतियोगीहरूले लगातार ३६ घण्टासम्म कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ। सहभागी टोलीका लागि आवासीय व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ।
प्रतियोगिताका क्रममा सहभागीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषयमा आधारित समाधान र नवीन अवधारणा प्रस्तुत गर्नेछन्। ती अवधारणाले बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले एआई/एमएल ह्याकाथनले डिजिटल बैंकिङका भावी सम्भावना पहिचान गर्न तथा यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइनेछ।
बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा निरन्तर सुधार गर्दै आएको उल्लेख गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यसले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ लगायत विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक हाल मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०८३, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने