खानासँगै नाना पाउँदा खुसी नै खुसी

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १२ : ५४
खानासँगै नाना पाउँदा खुसी नै खुसी

file photo

काठमाडौँ । कोभिड–१९का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई खानासँगै न्यानो कपडा समेत वितरण गरेको छ । 

सोमबार थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको छ । ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ  । न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुसी भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टीम नेपालप्रति खुसी व्यक्त गरेका हुन् ।

हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको उनले बताए ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ । 

यसअघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते यता थापाथलीस्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस