नेपालसँग सम्बन्ध सुधार्न भारतको विशेष पहल

भारतीय विदेश सचिवको यसै महिना नेपाल भ्रमण

पत्रपत्रिकाबाट

मंगलबार, २५ कार्तिक २०७७, ०७ : ५७
भारतीय विदेश सचिवको यसै महिना नेपाल भ्रमण

नयाँदिल्ली । पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयास गरेको छ । भारतीय सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको एक सातापछि नै विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।

उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने बताइएको छ । विशेष गरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बुझिएको छ । नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भन्दै हिन्दुस्तान टाइम्सले एक समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुख एमएम नारावणेले नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गरेर स्वदेश फर्किएको केही दिनमै भारत सरकारले विदेश सचिव हर्ष वर्धनलाई नेपाल पठाउन लागेको हो ।

नारावणेले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए । त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेट्दै नेपाल सरकारले आफ्नो देशको नक्सा जारी गरेसँगै भारतका विभिन्न उच्च ओहदाका अधिकारीहरुले नेपालबारे टिप्पणी गरेका थिए ।

भारतीय सेनाप्रमुख नारावणेसहित भाजपाका उच्चस्तरीय नेताले नै नेपालबारे टिप्पणी गरेका थिए । तिक्तताका बावजुद नेपाल–भारत सम्बन्ध सुधार्ने पहल भएको विज्ञहरु बताउँछन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला नोभेम्बर २६ देखि २७ का लागि नेपाल आउनेछन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।

श्रींग्लाको यस भ्रमणमा संयुक्त प्राविधिक स्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ । भारतीय कुटनीतिज्ञहरुको हवाला दिँदै हिन्दुस्तान टाइम्समा जनाइएको छ कि, उक्त भ्रमणमा एक भन्दा धेरै एजेन्डामा छलफल हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस