निजामती कर्मचारी राखेर रेल चलाउने तयारी

पत्रपत्रिकाबाट

मंगलबार, २५ कार्तिक २०७७, ०७ : ५०
निजामती कर्मचारी राखेर रेल चलाउने तयारी

काठमाडौँ । गत असोज २ मा जयनगर–जनकपुर खण्डमा सञ्चालनका लागि तामझामसाथ भारतबाट ल्याइएका दुई वटा रेल सेट कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् । दसैंलगत्तै कर्मचारी भर्ना प्रक्रिया टुंग्याएर रेल चलाउने भनिएको थियो । तर कर्मचारी भर्ना प्रक्रियाको टुंगो छैन ।

नेपाल रेलवे कम्पनीले भने कर्मचारी प्रक्रिया टुंगिए पनि कोभिड–१९ ले गर्दा बन्द रहेको बोर्डर नखुल्दासम्म रेल सञ्चालनमा नआउने बताएको छ । अहिले स्वीकृत दरबन्दी लोक सेवाबाट पूरा गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कर्मचारी मागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

‘तत्काल रेल चलाउन आवश्यक कर्मचारी माग गर्दै मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने, ‘प्राविधिक, प्रशासनिकलगायत कर्मचारी के–कति चाहिने सबै कुरा चिठीमा उल्लेख गरिएको छ ।’ मन्त्रालयमा ७० जना कर्मचारी माग गरिएको छ । चिठी पठाएको एक साताभन्दा बढी भयो । कान्तिपुरमा खबर छ ।