अर्थ मन्त्रालयमा विष्णु पौडेलको ईन्ट्रीसँगै क–कसले पाए मेजमानी ?

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १० : ०१
अर्थ मन्त्रालयमा विष्णु पौडेलको ईन्ट्रीसँगै क–कसले पाए मेजमानी ?

काठमाडौँ । पछिल्लो पटक पार्टीभित्र सहमति नजुटाइकन एकलौटी तवरले बिस्तार गरिएको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको चिट्ठा परेका विष्णु पौडेलको वरिपरी अहिले विगतमा बदनामी कमाएका, भ्रष्टाचारमा लिप्त भएका तथा जे जसरी भएपनि कमाई धन्दा गर्नेहरुको भीडभाड देखिन थालेको छ । पौडेलको च्याम्बरमा अहिले घरजग्गा कारोबारी, बैंक ठगेर भागेका तथा जग्गा प्रकरणमा जोडिएका मानिसहरुको भीडभाड हुन थालेको छ । 

विष्णु पौडेलेको आगमन अर्थमन्त्रीको रुपमा भएसँगै अर्थमन्त्रालयमा अहिले असगर अलिको राम्रैचल्ती फिर्ती देखिन थालेको छ । अर्थ मन्त्रालयका एक सहसचिवले नाम नखुलाउने शर्तमा भने आजकल प्रधानमन्त्रीको विज्ञान प्रविधि सल्लाहकार भन्दै अलीले नै कर्मचारी प्रशासन चलाउने शैलीमा यो गर, त्यो नगर भन्दै कर्मचारीलाई थर्काउन शुरु गरेका छन् ।

अर्थमन्त्रीका सहयोगीका रुपमा रहेका याम पाण्डेले पनि अलीको उपस्थिती मन्त्रालयमा नियमित जस्तै हुन थालेको र आफूलाई समेत काम गर्न सहज भएको बताउने गरेका छन् । पौडलले हालसम्म अरु कोही कसैलाई पनि सचिवालयमा नियुक्त गरेका छैनन् । बरु सबै काम उनै अलीले गर्ने गरेका छन् । कुन व्यापारीलाई भेटाउने तथा कुन व्यापारीको काम गर्ने, त्यसबाट के कति उठाउने, कसको काम गरे वापत के कति कमिसन लिने वा नलिने भन्ने निक्र्योल गर्ने जिम्मेवारी समेत उनै अलीले लिएका छन् । 

त्यस्तै बालुवाटारको जग्गा प्रकरणमा उनको मित्रको रुपमा रहेका मीनबहादुर गुरुङ, कुमार रेग्मीहरुले समेत राम्रै मेजमानी अर्थ मन्त्रालायमा पाएका छन् । यसबारेमा अर्थमन्त्रीका सहयोगी समेत रहेका पाण्डेसँग जिज्ञासा राख्दा उनले ‘शुभकामना दिन भन्दै धेरै खालका मानिसहरु आउने गरेको र सबैलाई त मैले चिन्दा पनि चिन्दिन’ भन्दै जवाफ दिन थालेका छन् ।

राजश्व छली गरेका, भ्याट छलीमा राम्रै नाम कमाएका तथा जे जसरी पनि राज्य कोषमा तर मारेका व्यापारीहरुले समेत राम्रैसँग अर्थमन्त्रालयमा घेरा हाल्न थालेका छन् । देशका लागि कुने सिन्को नभाचेको आरोप लाग्ने गरेका डा. युवराज खतिवडा मन्त्रालयमा रहँदा कुनै पनि व्यापारीले अर्थ मन्त्रालयमा पाइला राख्न समेत तीन पटक सोच्ने गर्दथे । तर यस पटक परिस्थिती फेरिएको छ ।

कोरोना भाइरसको महामारी भएपनि केएफसीबाट राम्रै खाजा मन्त्रालयमा आउन थालेका छन् । राम्रै स्वागत र मेजमानी हुन थालेको छ । कोही विष्णु कमरेड भन्दै पुग्ने गरेका छन् भने कोही महासचिवज्यूलाई भेट्न आएको भन्दै पुग्ने गरेका छन् । भेट्न आएकाहरुलाई  सोझै भित्री गोग्य कोठामा लगेर राख्ने जिम्मा केहीलाई दिएको श्रोतको भनाई छ ।

के कसरी काम गर्ने तथा को सँग के कति पैसा उठाउने खेलोमेलो मिलाउने जिम्मा भूकम्प प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत रहेका डा प्रकाश श्रेष्ठले लिएका छन् । व्यापारी ल्याउने विशेष जिम्मेवारीमा भने उनै अलीले लिएका छन् । जे भएपनि बालुवाटार जग्गामा पनि उन्मुक्ति पाएका पौडेलले को कसलाई कसरी मिलाएर उन्मुक्ति दिलाउने हुन् त्यो भने आगामी दिनमा नै प्रष्ट हुँदै जाने अर्थमन्त्रालयका कर्मचारी बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस