प्रधानमन्त्री ओलीको रणनीति : ‘जबज’ को बहस चलाउने, वडा तह सम्मै मदन भण्डारी फाउन्डेसन बिस्तार

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, ०९ : ११
प्रधानमन्त्री ओलीको रणनीति : ‘जबज’ को बहस चलाउने, वडा तह सम्मै मदन भण्डारी फाउन्डेसन बिस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका क्रममा महाधिवेशनवाट छिनोफानो लगाउने भनिएको जनताको बहुदलीय जनवाद (जबज)को बहस छेडेर पूर्व एमालेलाई एक बनाउने रणनीति अख्तियार गर्न लागेका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग विवाद बढेपछि ओलीले प्रचण्डसँगै मिलिरहेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेतालाई आफुतिरै गोलबद्ध गर्ने र पूर्व एमाले पङक्ति एक बनाएर समिकरण बनाउने प्रयास स्वरुप जबजको बहस अगाडी सार्ने रणनीति बनाएका हुन् ।

त्यसका लागि उनले वरिष्ठ नेता माधव नेपाललाई फकाउने रणनीतिलाई अहिले पहिलो अस्त्र बनाउन खोजेका छन् । प्रचण्डसँग पार्टी स्थायी समितिको बैठकको निर्णय कार्यान्वयनका सन्दर्भमा कुरा नमिलेपछि ओलीको यो रणनीति अगाडी आएको हो । जबज तत्कालिन एमालेको राजनीतिक कार्यक्रम थियो । तत्कालिन माओवादी केन्द्रसँगको एकताका क्रममा माओवादीले अंगिकार गर्दै आएको एक्काइशौं शताब्दीको जनवाद, माओवाद र एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवाद महाधिवशेनमा छलफल गर्ने भन्दै थाती राखिएको थियो ।

अन्तरिम कालका लागि जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाई अगाडी बढ्ने नेकपाले निर्णय गरेको थियो । तर त्यो कार्यक्रमको विपरित ओली स्यवंले जबजको कार्यक्रममा बहस चलाउन आफु निकट नेताहरुलाई निर्देशन गरेका हुन् । आफु जब अप्ठयारोमा पर्ने गर्छन, उनले जबजलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरेर पूर्व एमाले धारलाई एक बनाउने कोसिस गर्छन् । अहिले उनले त्यही प्रयास पार्टीभित्र गर्न खोजेका छन् । उनले कहिले माधव नेपाललाई बोलाएर मिलेर जाने अमूर्त प्रस्ताव गर्छन, कहिले राजनीतिबाट टाढिएर घरमै बसिरहेका प्रदीप नेपाललाई माधव नेपाल फकाईदिनुपर्यो भनेर दूत पठाउछन त कहिले जबज अब बहसमा लैजान पर्यो भनेर आफै निर्देशनात्मक अभिब्यक्ति दिन्छन् ।

यस्तै अभिब्यक्ति उनले प्रदेश १ का आफु निकट नेताहरुको जुम मिटिङ राखेरै दिएका छन् । बालुवाटारमा बसेर उनले हिजो बुधबार बिहान प्रदेश १ का आफु निकट नेताहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । त्यहाँ उपप्रधानमन्त्री तथा ओली पक्षिय सचिवालय सदस्य इश्वर पोखरेलले पनि जबजलाई अब बहसमा लगेर जानुपर्ने निर्देशन गरेका थिए । दुई नेताले निर्देशन गरेको जुम बैठकमा १७ जना ओली पक्षका नेताहरुले आ–आफनो क्षेत्रगत अवस्थाका बारेमा ब्रिफिङ गरेको स्रोतले बताएको छ ।

ओलीले उक्त छलफलमा आफ्नो रणनीतिका बारेमा पनि केही प्रष्ट पारेका थिए । उनले भनेका थिए, दुई अध्यक्षको जिम्मेवारी अनुसार काम नभएको र पार्टी कामको जिम्मा लिएका प्रचण्डले पार्टी काम गर्न छोडेर सरकारको काममा मात्र चासो लिन थालेको, भागवण्डा मात्रै खोजेकोले अप्ठयारो अवस्था आएको ब्रिफिङ गरेको ओली पक्षका एक नेताले सफलखबरलाई बताए । ओलीले दुई अध्यक्षबीच समझदारी नभएसम्म पार्टी बैठक नबोलाउने भन्दै अब आफुहरुले आफ्नो रणनीति अनुसार अगाडी बढ्नुको विकल्पै नभएको बताएका छन् । ओलीले जबजको बहस तल वडा तहसम्मै लैजान आग्रह गरेका थिए ।

त्यसका लागि उनले मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मै बिस्तार गरेर लैजान पनि निर्देशन गरेका थिए । स्थायी समिति बैठकले नेताका नाममा खोलिएका प्रतिष्ठानहरु गुटका घर भएकोले त्यसका गतिविधि रोक्ने र त्यसका लागि एउटा अध्ययन कार्यदल बनाई त्यसले दिएको रिर्पोटका आधारमा मात्र निर्णय लिने गरी निर्णय गरेको थियो । गत भदौ २९ गते अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख गरिएको थियो । तर ओलीले आफैले हस्ताक्षर गरेर रोक्न भनिएको प्रतिष्ठानका गतिविधि अझ झन सक्रिय बनाएर लैजानुपर्नेमा प्रदेश १ का आफु निकटका नेताहरुलाई निर्देशन गरेका हुन् ।

मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मै बिस्तार गरेर जान र त्यही प्रतिष्ठानका नाममा जबजका बारेमा बहस चलाउन ओलीले निर्देशन गरेका हुन् । महाधिवेशनपछि जबज नै पार्टी कार्यक्रम बन्ने गरी अहिलेदेखि नै छलफल थाल्न उनले निर्देशन गरेका हुन् । जुम बैठकमा इश्वर पोखरेलले भने प्रचण्डकै कारण पार्टीमा समस्या आएको भन्दै कर्णालीमा आफु पक्षिय मन्त्रीलाई हटाउने गरी कुनै स्टेप चालिए प्रचण्डहरुले नसोचेको परिणाम भोग्ने चेतावनी दिएको सहभागी एक नेताले सफलखबरसँग भने । ओली र पोखरेलले यस्तै जुम बैठक आज पनि गर्दैछन् । उनले आज प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका नेताहरुसँग गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस