डोटी । १५ वर्षीया बालिकालाई एक प्रहरी जवानले बलात्कार गरी हत्याको समेत प्रयास गरेको भन्दै उजुरी परेको छ । जोरायल गाउँपालिकाकी बालिकालाई गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले बलात्कारपछि हत्याको प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दर्ता गरेका छन् ।
कात्तिक १३ को राति ११ बजेतिर छोरी घरकै कोठामा सुतिरहेको अवस्थामा बलात्कार गरी कोदोबारीमा मरेको भन्दै फालेको बालिकाका बुबाले बताए । घरदेखि घिसार्दै कोदोबारीमा लगेर फालेको अवस्थामा राति ३ बजेतिर छोरीलाई भेटेको उनको भनाइ छ । ‘राति कोही चिच्चाएको आवाज आयो,’ पीडित बालिकाका बुवाले भने, ‘को रहेछ भनेर गएको त छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरीसकी भनेर फालेको रहेछ ।’ घटनाको तीन दिनपछि मात्रै धनगढीस्थित प्रादेशिक अस्पतालमा बालिकाको चेत खुलेको थियो ।
घटना भएको ५ दिनपछि पीडित बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय डोटीमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन् । अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेपनि होस आएको थिएन । बालिकाको घाटीमा गहिरो कालो निलडाम छ । खुट्टा र शरीरमा निलडाम रहेको बालिकाका बुवाले बताए । उनी बेला बेला बरबराउँछिन् । मानसिक रुपमा विक्षिप्त रहेकी छन् ।
घटनाबारे प्रहरी चौकीलाई समयमै पीडितका आफन्तले जानकारी गराउँदा पनि मुद्दा दर्ता गर्दासम्म अभियुक्त प्रहरी चौकीबाटै फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले पीडित बालिकाका आफन्तले उजुरी दर्ता गर्न आएपछि प्रहरी चौकीको सम्पर्कमा नरहेको फोनमा बताए । पीडितका आफन्तले प्रहरीको मिलेमतोमा अभियुक्तलाई विभिन्न बहाना गरेर घटनालाई कम्जोर बनाउने चलखेल भइरहेको आरोप लगाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ कार्तिक २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ