तिहार आउने कहिलेकहिले ? सयपत्री फुले अहिले !

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १४ : ४८
तिहार आउने कहिलेकहिले ? सयपत्री फुले अहिले !

चितवन । तिहार आउन अझै २३ दिन बाँकी छ, तर गाउँघरमा लगाइएको सयपत्री फूल फुलिसकेको छ । काठमाडौँ, चितवन आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फूलिसकेको छ ।

यस वर्ष दसैँतिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेती गर्दै आएका छन् । तर यसपटक फूल फूल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ । फूलको माग हुने समयमा फूल फूलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दसैंको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेती गर्दै आएका छन् । 

यस क्षेत्रका किसानले तिहारलक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दसैँमा फूलको प्रयोग कम हुने र तिहारसम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानीसमेत घट्ने भएको छ । अहिले फूल ढकमक्क फूलिसकेको छ र बढीमा एक सातासम्म मात्र बोटमा रहन सक्छ । 

टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठ्यारो किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छुभन्दा पनि ग्राहक पाउन नसकेको गुनासो गरे । 

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका सानाठूला मन्दिरहरुमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।

यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्छ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा फूल खेती गर्दै आएका किसानहरु पनि फूल बिक्री नभएपछि चिन्तित छन् ।

चितवनका फूल किसानहरु तिहार आउन बाँकी छँदै सयपत्री फूल फुलेको बताएका छन् । उनीहरुले तिहार आउन बाँकी रहेको समयमा सयपत्री फुलेको हुनाले तिहारमा अभाव हुने डर भएको बताउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस