सर्लाही । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा आज गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको कांग्रेसले आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफूहरुले हवाई फायर नगरेको तर ३१ राउण्ड अश्रुग्यास र सामान्य लाठी चार्ज गरेको राससलाई बताए ।
भीड नियन्त्रण बाहिर गएपछि आफूहरुले बाध्य भएर अश्रुग्यास र सामान्य लाठी चार्ज गर्न पुगेको प्रहरी उपरीक्षक राठौरको स्वीकारे ।
मलङ्गवा पब्लिक मावि अगाडिबाट विरोध प्रदर्शन शुरु गरिएको थियो । हत्याको छानबिन र उजूरी लिन माग गर्दै गरिएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रदेशसभा सदस्य सिंहले बताए ।
प्रदेशसभा सदस्य सिंहले प्रहरीले सयौंँ राउण्ड हवाई फायर गरेको जिकिर गरे । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको कांग्रेस सर्लाहीले जनाएको छ ।
घटनाका दोषीलाई कारवाही तथा मृतक रामलाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।
प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका चार जना घाइते भएको जानकारी दिए । घटनामा विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
कांग्रेसले राम मृत्यु प्रकरणका विषयमा सत्यतथ्य छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारका तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ ।
रामनगर–७ सिसौट बस्ने राममाथि यही असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेका बेला १२÷१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए ।
आक्रमणमा परी गम्भीर घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो । रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलङ्गवा अस्पतालमा परिवारले ल्याउन खोजे पनि प्रहरीले दबाब दिएर वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ असोज २०७७, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको प्रदर्शन
ने.वि.संघ अधिवेशन पक्षधरको प्रदर्शन
यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै
उपत्यकामा ३८ सय प्रहरी परिचालित
भारतमा नेपाली विद्यार्थीको मृत्युको घटनाको विरोध गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन