किन सड्दै छ दुर्लभ रेल ? संरक्षणमा सरकारको ध्यान पुगेन्

पत्रपत्रिकाबाट

सोमबार, २६ असोज २०७७, ०८ : १५
किन सड्दै छ दुर्लभ रेल ? संरक्षणमा सरकारको ध्यान पुगेन्

जनकपुरधाम । सरकारले यही असोज २ गते भारतबाट दुई सेट रेल जनकपुर ल्यायो। नेपालले आफैं किनेका नयाँ रेल आइपुगेपछि देशभर चर्चापरिचर्चा भयो। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिन भने खिया लागेर कवाडीमा परिणत हुँदै छन्।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेलवे सेवा बन्द भएको ७ वर्षे अवधिमा पुराना इन्जिन, बोगी र अन्य उपकरण जीर्ण बन्दै छन्। विश्वमै दुर्लभ मानिएको न्यारोगेज रेलका कतिपय सामग्री चोरीसमेत भएको पाइएको छ। नेपाल रेलवेको स्टेसन कारखानामा थन्क्याइएका न्यारोगेज इन्जिनलाई सांस्कृतिक संग्रहालय बनाएर विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा बेवास्ता गरिएको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेख बताउँछन्।

‘हामीले न्यारोगेज रेलको इन्जिन राखेर म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग ग¥यो। तर, हामीले चिठीको जवाफ पाएका छैनौं’, गाउँपालिका अध्यक्ष शेख भन्छन्, ‘संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप गर्न मिलेन। त्यसैले म्युजियम बनाई इन्जिन संरक्षण गर्ने काम हुन सकेको छैन।’

जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेलवे ट्र्याक खण्डको खुला स्टेसनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा कुहिरहेका छन्। जनकपुर–जयनगर रेल सेवा बन्द भएपछि नेपाल रेलवेको विघटन भएसँगै रेल सम्पत्ति संरक्षण गर्न कर्मचारी खटाइएका थिए। १६ कर्मचारी घरमै बसेर तलबभत्ता खाँदै पार्टपुर्जासमेत बिक्री गरेको स्थानीय धनिकलाल दास बताउँछन्। ‘रेलमा पुरानो इतिहास बोकेको देश नेपालबाहेक कुनै छैन।

तर, हामीले यसको महत्व बुझ्न सकेका छैनौं’, दास भन्छन्, ‘न्यारोगेज अरू देशमा छैन, त्यहाँ कति महत्व छ। तर, हाम्रो देशमा छ, यहाँ महत्व छैन। यसलाई अन्य ठाउँमा भए हीराझैं सजाएर राख्थ्यो। हाम्रो देशमा न्यारोगेज रेलवेको कोइला इन्जिन छोप्ने छत पनि छैन।’ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले हालै संग्रहालय बनाएर संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको फेसबुकमा लेखेका छन्।

नेपालमा रेल सेवाको इतिहास सन् १९२७ मा सुरु भएको थियो। नेपाल सरकार रेलवे (एनलीआर) मातहत पहिलो रेल ७६२ एमएम न्यारोगेज हो। तत्कालीन बेलायत सरकारले भारतको रक्सौलबाट अमलेखगन्जसम्म ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। दोस्रो चरणमा जयनगर–जनकपुर रेलमार्ग बनाइएको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।